माओवादीको सुदूरपश्चिम प्रदेश सम्मेलनको तयारी तीव्र
2021/12/09, 6:52
 
ss

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले प्रदेशको प्रथम सम्मेलनको तयारी तीव्र पारेको छ । सम्मेलनलाई सफल पार्नका लागि विभिन्न समिति र उपसमिति गठन गरेर तयारीका कामहरु भइरहेका माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष शरदसिंह भण्डारीले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताए ।सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा हुने सम्मेलनमा करिब एक हजार दुई सय जना प्रतिनिधि सहभागी हुने उनले जानकारी दिए ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी नौ जना पदाधिकारी सहित दुई सय २३ सदस्यीय प्रदेश कमिटी गठन गर्ने छ । बिहीबार बसेको माओवादी स्थायी समितिको बैठकले प्रदेश कमिटीहरुमा पदाधिकारीको संख्या सात जनाबाट बढाएर नौ पु¥याउने निर्णय गरेको छ ।

सम्मेलनमा पार्टीको आगामी कार्यदिशा, नीति, कार्यक्रमका बारेमा बहस, छलफल हुने माओवादी केन्द्रको सुदूरपश्चिम सहइन्चार्ज एवम् प्रदेश सम्मेलनको तयारीका लागि गठित प्रचारप्रसार समितिका संयोजक बिना मगरले बताइन् । कार्यदिशा, नीति, कार्यक्रमबारे प्रदेश सम्मेलनबाट प्राप्त सुझाबहरु केन्द्रमा पठाइने उनले बताइन् ।

प्रदेश कमिटीमा महिला, युवा, दलित, जनजातीको उल्लेख्य सहभागिता अनिवार्य गरिएकाले यो सम्मेलन निकै महत्वपूर्ण रहेको सहइन्चार्ज मगरले बताइन् । ‘३५ प्रतिशत महिला सहभागिताको व्यवस्था छ । दलित, युवा, जनजात आदि समूहको उल्लेख्य सहभागिता सुनिश्चित गरिएकाले पनि सम्मेलन निकै महत्वपूर्ण रहने छ ।’ उनले भनिन् । सुदूरपश्चिमको ९ वटै जिल्लाबाट सम्मेलनमा सहभागी हुन नेता तथा कार्यकर्ता धनगढी आउन थालेका माओवादीले जनाएको छ।

देशका सात वटै प्रदेशमा एकै साथ नेकपा माओवादी केन्द्रको प्रदेश स्तरीय प्रथम सम्मेलन हुन थालेको हो । सम्मेलनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै साथ काठमाडौंबाट भर्चुल माध्यमबाट उद्घाटन गर्नेछन् ।माओवादीले देशैभरि वडा र पालिका सम्मेलन सम्पन्न गरिसकेको छ । माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा हुँदैछ ।