सुदुरपश्चिमबाट देउवाको प्यानलका यी हुन् उम्मेदवार
2021/12/12, 12:38
 
ss

काँग्रेसको जारी महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्ता भइसकेको छ। सुदूरपश्चिमबाट सभापतिसहित विभिन्न पदमा दर्जन बढी नेताले उम्मेदवारी दिएका छन्।

सभापतिमा डडेल्धुरा गृह जिल्ला भएका वर्तमान सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिएका छन्। उनको प्यानलबाट पदाधिकारीमा भने सुदूरपश्चिमका कसैको पनि उम्मेदवारी छैन। खुलातर्फ केन्द्रीय सदस्यमा भने तीन जना अटाएका छन्।

अहिलेका केन्द्रीय सदस्य एनपी साउँद, रमेश लेखक र नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले देउवा प्यानलबाट उम्मेदवारी दिएका छन्। केन्द्रीय सदस्य महिलातर्फ डा. आरजु राणा देउवा र ईश्वरी न्यौपाने देउवा टिममा अटाएका छन्। तीन जना भूगोलतर्फका केन्द्रीय सदस्यमा डा. राणबहादुर रावल, यज्ञराज जोशी र सुशीला भट्टको देउवा प्यानलबाट उम्मेदवारी छ।

दलित केन्द्रीय सदस्यतर्फ धनगढीका मेयर नृपबहादुर वड, केन्द्रीय सदस्य खस आर्यतर्फ अछामका गोविन्दबहादुर शाह र बाजुराकी विद्या तिमल्सिना, केन्द्रीय सदस्य थारु तर्फ रामजनम चौधरी र पिछडिएको क्षेत्रबाट बझाङका अर्जुनबहादुर सिंहको उम्मेदवारी देउवा प्यानलबाट परेको छ। सुदूरपश्चिमबाट शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिको प्यानलबाट पनि दर्जनौको उम्मेदवारी परेको छ।