ध्वज महरालाई ‘सर्वोत्कृष्ट डेउडा गायक’ पदवी
2021/12/15, 3:20
 
dd

युट्युवमा तहल्का मच्चाइरहेको ‘धनगढी बजार’ बोलको गीतका गायक ध्वज महरा काठमाडौंमा सम्पन्न म्युजिक अवार्डमा डेउडा गीतमा ‘सर्वोत्कृष्ट डेउडा गायक’ को पदवीले सम्मानित भएका छन् ।

हालै एपिक नेपाल म्युजिक प्रा.लि.ले आयोजनामा सम्पन्न ‘तेस्रो एपिक नेपाल म्युजिक अवार्ड’ कार्यक्रममा डेउडा गायक महराले ‘सर्वोत्कृष्ट डेउडा गायक’को पदवी पाएका हुन् ।

नेपाली गीत संगीतको क्षेत्रमा योगदान पु¥याएका कलाकार तथा प्राविधिकलाई दिइने अवार्डको यस वर्षको संस्करणमा डेउडा गायक महरालाई उक्त पदवीले सम्मानित गरिएको हो । डेउडा गायक महरालाई ‘धनगढी बजार’ बोलको गीतमा उत्कृष्ट गायन गरेको भन्दै सम्मानित गरिएको आयोजक संस्था एपिक नेपाल म्युजिक प्रा।लि।का अध्यक्ष वविता श्रेष्ठले बताइन् ।

सम्मानले आफूलाई थप जिम्मेवारी थपिएको बताउँदै गायक महराले भने,‘यो सम्मानले अझै डेउडा गीतप्रति मलाई थप जिम्मेवारी बोध गराएको छ ।’ समय समयमा हुने यस्ता अवार्डले कलाकारलाई हौसला थपिनुका साथै गीत संगीतमा थप जिम्मेवारी दिने गरेको उनी बताउँछन् । ‘अब निजी क्षेत्र मात्रै नभई सुदूरपश्चिम सरकारले पनि डेउडा गीत संगीतका स्रष्टा, सर्जकलाई बेला बेलामा सम्मान गर्नुपर्छ,’ उनले भने,‘जसले गर्दा स्रष्टाहरुको मनोबल बढ्न गई उनीहरुलाई थप सिर्जना गर्न हौसला मिल्छ ।’

‘चर्न बखरी गै’, ‘गैजा डोटी गैजा’, ‘डोटी गौंडा’, ‘धनगढी बजार’, ‘फर्की किन आइन’ लगायतका ४ सय बढी गीतमा स्वर दिइसकेका डेउडा गायक महराको दुई हप्ता अघि युट्युवमार्फत ‘पूर्णीकी जून जसी’ गीत सार्वजनिक भएको छ । यो गीत पछिल्लो समयमा सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको छ ।