खेलाडी उत्पादनका लागि निःस्वार्थ भावनाका साथ अघि बढे जस्तोसुकै परिस्थितिमा पनि मुलुकका लागि खेलाडी प्रतिभावान खेलाडी दिन सकिन्छ भन्ने उदाहरण पछिल्लो समय कञ्चनपुरको भीमदत्त नगरपालिका-७ हल्दुखालमा देखिएको छ। गत वर्ष कबड्डी प्रशिक्षक विष्णुदत्त भट्टले आफ्नो आठ कठ्ठा जमिनमा स्पोर्टस् एकेडेमी स्थापना गरेपछि अहिले हरेक दिन बिहान यहाँ ९३ जना १४ वर्ष मुनिका बालबालिका कबड्डी प्रशिक्षण निःशुल्क रूपमा पाइरहेका छन्।
'गाउँमै नयाँ खेलाडी उत्पादन गरौं भनेर प्रशिक्षण केन्द्र १२ लाख रुपैयाँ लगानी गरेर स्थापना गरेँ', उनले भने, 'पछि कबड्डीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएपछि त्यहाँ कबड्डीकै भूपू राष्ट्रिय खेलाडीले नियमित प्रशिक्षण दिइरहेका छन्।' कबड्डीका मुख्य प्रशिक्षक भट्टले सुरूआत गरेको प्रशिक्षण केन्द्रमा हाल ग्रामीण भेगका खेलाडीको सङ्ख्या बढिरहेको छ। नेपाली सेनाबाट सेवानिवृत्त भएर आएका कबड्डीका पूर्वराष्ट्रिय खेलाडी नरेन्द्र थापाले विगत केही महिनायता दैनिक प्रशिक्षण दिइरहेका छन्।
'भीमदत्त नगरपालिका-१, ३, ६, ७, ८ र नौ वटासमेत खेलाडी प्रशिक्षणका लागि आउँछन्', उनले भने, 'हल्दुखाल क्षेत्रमा कबड्डीको क्रेज दशकौं देखिको हो।' कञ्चनपुरका २०३६ को दशकयतादेखि निरन्तर कबड्डी खेलका प्रशिक्षण हुँदै आएको छ। कञ्चनपुरकै कबड्डी प्रशिक्षक भट्टले अहिले मुलुकको कबड्डीको मुख्य प्रशिक्षकको भूमिकामा छन्। यसअघि पनि कबड्डीको मुख्य प्रशिक्षकमा कञ्चनपुरकै तारासिंह भाटले जिम्मेवारी सम्हालेका थिए।
'हल्दुखालबाट मात्रै नौ जनाले अन्तर्राष्ट्रिय कबड्डी खेलमा सहभागिता जनाएको तथ्यांक छ', मुख्य प्रशिक्षक भट्टले भने, 'गाउँमा थालिएको प्रशिक्षणले चाँडै कबड्डीका लागि प्रभिावान खेलाडी जन्मिनेमा ढुक्क छौं।' त्यसैगरी जिल्ला कबड्डी सङ्घ कञ्चनपुरका उपाध्यक्ष रमेशचन्द्र ओझाले ग्रामीण भेगमै खेलाडी बढी हुने गरेकाले सो क्षेत्रमै प्रशिक्षण केन्द्र हुनु सुखद् पक्ष रहेको बताए।
'कबर्ड हलमा प्रायःखेलकूद आयोजनाको पूर्वसन्ध्यामा मात्रै प्रशिक्षणलाई प्राथमिकतामा राखेको देखिन्छ', उनले भने, 'गाउँमै प्रशिक्षण पाउँदा समाजमा बढ्दो विकृति र विभिन्न कुलतबाट पनि युवा पिँढी बाँचिरहेको हुन्छ।' उनले खेल जीवनमा बालबालिका प्रवेशले अभिभावक पनि खुसी हुनुपर्ने बताए। 'खेल स्वास्थ्यका लागि सँगै अनुशासनका लागि पनि अपरिहार्य हो', ओझाले भने,'राज्यले पनि खेल प्रशिक्षण ग्रामीण भेगमा पुर्याउन नसकेका बेला कबड्डी बस्तीसम्म पुग्नु सकारात्मक कुरो हो।'