'पुष्पा'को कमाइ ५ सय करोड नजिक
2021/12/22, 2:56
 
11

अल्लु अर्जुन अभिनीत बहुप्रतीक्षित तेलुगु फिल्म 'पुष्पा : द राइज'ले प्रदर्शनमा आएको पाँच दिनमै भारतीय रुपैयाँ २ सय करोडको आँकडा पार गरेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले सुरुवाती पाँच दिनमै विश्वभरबाट २ सय २० करोडभन्दा बढी कारोबार गरेको हो। 

यसअघि सुरुवाती तीन दिनमै १ सय ४० करोडभन्दा बढीको बक्स अफिस कलेक्सन गर्दै वर्षको सबैभन्दा ठूलो भारतीय फिल्म बनेको थियो। पहिलो हप्ताको वर्ल्ड वाइड कलेक्सन १ सय ७० करोडभन्दा बढी पुगेको थियो। 

२ सय देखि २ सय ५० करोड लगानीमा बनाइएको फिल्मको डिजिटल राइट प्रदर्शनअघि नै २ सय ५३ करोडमा विक्री भइसकेको थियो। यसरी फिल्मको आम्दानी ५ सय करोड नजिक पुगेको छ।

तेलुगुसँगै हिन्दी, मलयालम, तमिल, अंग्रेजी लगायतका विभिन्न भाषामा प्रदर्शन भएको फिल्म यो वर्षको सबैभन्दा सफल भारतीय फिल्म त बनेको छ। साथै बक्स अफिसमा विभिन्न कीर्तिमान पनि बनाइरहेको छ। 

'पुष्पा'को क्रेज नेपालमा पनि उत्साहजनक रहेको छ। नेपालमा पनि शुक्रबारदेखि नै प्रदर्शनमा आएको फिल्मका अधिकांश शो हाउसफुल रहेका छन्। निर्माण टोलीका अनुसार नयाँ वर्षदेखि फिल्मको दोस्रो भाग 'पुष्पा : द रुल' को छायांकनको काम सुरु हुनेछ।

सुकुमारको लेखन तथा निर्देशन रहेको एक्सन थ्रिलर फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्धना‚ फहाद फासिल, जगपति बाबु, प्रकाश राज, धनञ्जय, सुनील वर्मालगायतका कलाकारको पनि अभिनय छ।

सुकुमार र अल्लु अर्जुनले यसअघि 'आर्या' र 'आर्या २' जस्ता फिल्ममा सहकार्य गरेका थिए। जुन व्यवसायिक रूपमा ब्लकबस्टर साबित भएको थियो।