कैलाली कांग्रेस नेतृत्वका लागि देउवा पक्षकै ६ जनाको लबिङ
कसरी ‘आउट’ भए दुई जना
2021/12/29, 6:27
 
dd

नेपाली कांग्रेस कैलालीको आगामी २७ गते जिल्ला अधिवेशन हुने भएको छ । यस अघि प्रदेश अधिवेशनका करण जिल्ला अधिवेशन हुन सकेको थिए ।

कैलालीमा १८ हजार भन्दा बढी क्रियाशील सदस्य रहेको कांग्रेसको दाबी छ । जिल्ला अधिवेशनमा लागि कैलालीमा २ हजार ५ सय ७२ जना प्रतिनिधि छानिएका छन् ।

जिल्ला अधिवेशनको मिति पटक पटक सरेपनि आकांक्षीहरू भने कम भएका छैनन् । अहिले सम्म पार्टी जिल्ला सभापतिको लागि छ जनाले लबिङ गरिरहेका छन् ।


को हुन् सभापतिमा लबिङ गर्ने छ जना

कैलालीका सभापति नरनारायण शाह मनु यस अघि दुई कार्यकाल सभापति भइसकेको हुँदा उनी यस अघि नै ‘रिङ आउट’ भइसकेका थिए । जिल्ला सभापति हुन विधान बाधक हुने भएपछि उनी प्रदेश महामन्त्रीमा लडे र जिते पनि ।

जिल्ला सभापति मनु प्रदेश महामन्त्री भएपछि कार्यवाहक सभापतिको जिम्मेवारी प्रकाश बहादुर बमले पाएका छन् । उनी १३ औँ जिल्ला अधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका उनी १२ औँ महाधिवेशनमा मार्फत जिल्ला सचिव भएका थिए । उनले पनि अहिले कैलाली सभापतिमा लबिङ गरिहरेका छन् ।

कैलालीको सभापतिको लागि लबिङ गरिरहेका अर्का आकाङ्क्षी हुन् नारायण भट्ट उनी पूर्व जिल्ला उपसभापति हुन् । उनी ११ औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थिए । ।

दीर्घ राज भाट सभापति हुँदा उनी कार्यवाहक सभापतिको जिम्मेवारी पनि पाइरहेका थिए । भट्ट हाल केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन् । कुनै समय जिल्लाको उपसभापति भइसका भट्ट यस सभापतिको लागि तीव्र लबिङमा रहेको कांग्रेस स्रोतको दाबी छ ।

१३ औ अधिवेशनमा सभापतिका लागि होमिएका भीम बडूवाल फेरी सभापतिको दौडमा छन् । १३ औँ अधिवेशनमा बडुवाल नरनारायण शाह मनुसँग पराजित भएका थिए । नेपाल विद्यार्थी संघ कैलालीका सभापति समेत भइसकेका उनी यस पटक पार्टी सभापतिको लागि लबिङ गरिरहेका छन् ।

१३ औँ अधिवेशनमा नरनारायण शाह मनुसँग पराजित भएका बडूवाल १२ औँ अधिवेशनमा उनकै टिमबाट सचिवमा लडेका थिए । त्यहाँ पनि उनी राम चरण चौधरीसँग पराजित भएका थिए ।

सभापतिका अर्का आकांक्षी गणेश देउवा पनि यस अघिको अधिवेशनमा सभापतिका लागि निर्वाचनमा होमिएका थिए । नरनारायण शाह मनुसँग निर्वाचनमा होमिएका देउवा र अर्का उम्मेदवार बडूवालको समान मत आएको थियो । त्यसपछि देउवाले बडूवाललाई समर्थन गरेका थिए । देउवाको समर्थन पाएपछि पनि बडूवालले शाहलाई भने हराउन सकेनन् ।

कैलाली क्षेत्र नम्बर ४ वाट दोस्रो संविधान सभामा टिकट पाएका खेमराज चौधरी पनि अहिले सभापतिको लागि दौडमा छन् । उनी तत्कालीन अवस्थामा क्षेत्र नम्बर ४ को पार्टी सभापति समेत भएका थिए ।

संविधान सभामा ६ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधि सभामा घटाएर ५ वटा निर्वाचन क्षेत्र तोकिएको थियो । त्यसपछि चौधरी क्षेत्र नम्बर ३ को पनि सभापति भए । क्षेत्रीय सभापति भइसकेका चौधरी अहिले जिल्ला सभापतिको लागि लबिङ गरिरहेका छन् ।

अर्का आकांक्षी नवराज रावल हुन् । उनी सामाजिक सङ्घसंस्थाहरूमा सक्रिय छन् । तीन कार्यकाल जिल्ला कार्यसमिति सदस्य रहेका उनी अहिले सभापतिको दौडमा छन् । यस अघि उनी जेसिस टिकापुर, टीकापुर उद्योग वाणिज्य सङ्घ र टीकापुर खानेपानी संस्थाका पनि अध्यक्ष थिए ।

दुई आकांक्षी घटे

एक पदको सभापतिमा अहिले कैलालीमा छ जना आकांक्षी देखिएका छन् । कांग्रेस केन्द्रीय सदस्यमा दुई जना निर्वाचित भएपछि आकांक्षीको संख्या केही कम भएको हो ।

यस अघि तथा सुदूरपश्चिममा नेपाली कांग्रेस संसदीय दलका नेता डा= रणबहादुर रावल र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वड पनि सभापतिको दौडमा रहेको चर्चा थियो ।

रावल भूगोलको कोटाबाट र वड दलितको कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनीहरू दुवै जना जिल्ला सभापतिको दौडबाट बाहिरिएका हुन् ।

अन्य पदाधिकारीमा पनि आकांक्षी धेरै

सभापतिको एक पदमा छ जना आकांक्षी भएजस्तै सभापति बाहेकका पदहरूमा पनि आकांक्षी धेरै देखिएका छन् । उपसभापतिमा अहिले सम्म लोकराज पाण्डे आगो र प्रकाश देउवाको चर्चा छ । सभापति पछि धेरैको रोजाइमा सचिव परेको छ । सचिवमा नृप सुनार, केशव मिश्र, अमृत बिसी र कृष्ण पाण्डेय रहेका छन् । सह सचिवमा भने आकांक्षी देखिएका छैनन् ।

कैलालीमा १३ स्थानीय तह छन् । ती मध्ये छ गाउँपालिका ६ नगरपालिका र एक उपमहानगरपालिका रहेका छन् । छ गाउँपालिकाका एक पुरुष र एक महिला गरी १२ जना निर्वाचित हुने छन् । त्यस्तै छ नगरपालिकाका एक महिला र दुई पुरुष गरी १८ जना निर्वाचित हुने छन् ।

उपमहानगरपालिकाबाट दुई महिला सहित तीन पुरुष गरी पाँच जना निर्वाचित हुने छन् । त्यसको दुई तिहाइ समावेशी सदस्य सङ्ख्या निर्वाचित हुने छन् ।