नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन नजिकिएसँगै चुनावी चहलपहल बढ्दै गइरहेको छ । यस अघि स्थगित भएको जिल्ला अधिवेशन आगामी २७ गते हुँदैछ ।
काँग्रेस केन्द्रीय कार्यालयले अधिवेशन नभएका १६ जिल्लामा आगामी २७ गतेको मिति तय गरे सँगै कैलालीमा पनि चुनावी चहलपहल बढेको हो ।
अधिवेशनको मिति तोकिएपछि जिल्ला सभापति सहित पदाधिकारी र सदस्य पदका आकाङ्क्षीहरूले आआफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । जिल्ला सभापतिका लागि संस्थापन पक्ष निकट जिल्ला उपसभापति प्रकाशबहादुर बम, पूर्व उपसभापति नारायणदत्त भट्ट, गणेश देउवा, भीम बडुवाल, खेमराज चौधरी लगायतले दाबी गरेका छन् ।
संस्थापन बाहेकको पक्षबाट अहिलेसम्म सभापतिमा को उम्मेदवार हुने भन्ने खुलेको छैन । सभापतिका आकाङ्क्षी बमले मंसिरको पहिलो साता धनगढीमा पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । सभापतिका आकाङ्क्षीहरूले अहिले वडा तथा पालिका र क्षेत्र स्तरीय भेला र भेटघाट कार्यक्रममा आफ्नो सहभागिता तीव्र बनाइरहेका छन् ।
त्यस्तै, जिल्ला सचिवमा अहिलेका कार्यसमिति सदस्य नृपबहादुर सुनार, केशव मिश्र, अमृत बिसी लगायतले आआफ्नो दाबी प्रस्तुत गरेका छन् । जिल्ला अधिवेशन प्रचारप्रसार समिति संयोजक समेत रहेका सचिव पदका आकाङ्क्षी सुनारलेअधिवेशनको तयारी तीव्र बनाइएको बताए ।
जिल्ला अधिवेशनका यसअघि नै निवर्तमान जिल्ला सभापति नरनारायण शाहको अध्यक्षतामा एक हजार पाँच सय एक सदस्यीय जिल्ला अधिवेशन मूल व्यवस्थापन समिति गठन गरिएको थियो ।एक सय २६ वडा रहेको कैलालीमा जिल्ला अधिवेशनका लागि २५ सय बढी प्रतिनिधिहरू रहेका छन् ।
कैलालीमा १३ स्थानीय तह छन् । ती मध्ये छ गाउँपालिका ६ नगरपालिका र एक उपमहानगरपालिका रहेका छन् ।
छ गाउँपालिकाका एक पुरुष र एक महिला गरी १२ जना निर्वाचित हुने छन् । त्यस्तै छ नगरपालिकाका एक महिला र दुई पुरुष गरी १८ जना निर्वाचित हुने छन् । उपमहानगरपालिकाबाट दुई महिला सहित तीन पुरुष गरी पाँच जना निर्वाचित हुने छन् । त्यसको दुई तिहाइ समावेशी सदस्य सङ्ख्या निर्वाचित हुने छन् ।