प्रधानसेतापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार दार्चुलाको उत्तरी ब्यास क्षेत्रको निरीक्षण गरेका छन । भारतले नेपाली भूमि लिम्पियाधुरा कालापानी र लिपुलेक अतिक्रमण गरेर सडक उद्घाटन गरेको एक महिना भन्दा बढी समयपछि सेना र सीमा सुरक्षा गर्ने निकायका प्रमुखहरुले ब्यास क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन ।
नेपाली सेनाको हेलिकप्टर मार्फत बुधबार बिहान दार्चुला पुगेका प्रधान सेनापति र सशस्त्रका आईजीपीले वैशाख ३१ गते ब्यास गाउँपालिका १ छाङ्रुमा स्थापना गरिएको सशस्त्र प्रहरीको बिओपी र नेपाली सेनाले निर्माण गरिरहेको ब्यास गाउँपालिका २ घाटीबगडको गोरेटो बाटोको अनुगमन निरिक्षण गरेको सुरक्षा निकायहरुले बताएका छन । सेनाले नेपालको बाटो भएर ब्याास क्षेत्र जानका लागि घाटीबगड क्षेत्रमा गोरेटो बाटो निर्माण गरिरहेको छ ।
त्रिदेशीय सीमा क्षेत्र ब्यास जोड्ने बाटो जेठ ९ गतेबाट निर्माण कार्य सुरु गरिएको हो । एक सय २० मिटर बाटोको ट्रयाक खोलिएको दुर्गादल गुल्म दार्चुलाका गुल्मपति श्यामराजा थापाले बताए । घाटीबगडदेखि र्मौयाभिरसम्मको साढे चार सय मिटर उक्त पैदल बाटो असार मसान्तसम्ममा निर्माण गरि सक्ने जिम्मेबारी सेनाले पाएको थियो । प्रधान सेनापति थापाले निर्माण कार्यस्थल पुगेर निर्माणमा सावधानी अपनाएर काम गर्न सेनाको विकास निर्माण कार्यदललाई निर्देशन दिए ।
दुवै सुरक्षा प्रमुखले सीमा सुरक्षा र सीमाको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा प्रमुखसँग छलफल गरेका थिए । बिओपी अनुगमन गरी खलंगा फर्केका महानिरिक्षक खनालले छाङ्गरुका स्थानीयले बिओपी स्थापनापछि सुरक्षित महसुस गरेको प्रतिक्रिया दिएको बताए । खनालले दार्चुलालाई सुरक्षा दृष्टिकोणले पहिलो प्राथमिकतामा राखेर सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी क्रियाशील रहेको पनि बताए । दार्चुला सदरमुकाम खलंगामा निर्माण भएको सशस्त्र प्रहरीको नम्बर ५० गुल्मको भवनको उद्घाटन पनि गरे । उनले यो गुल्मलाई गण र छाङ्गरुको बिओपीलाई गुल्म बनाउने योजना रहेको पनि बताए ।