को हुन काँग्रेसका राष्ट्रिय सभा सदस्यका उम्मेदवार नारायणदत्त मिश्र ?
2022/01/04, 11:05
 
dd

नेपाली काँग्रेसले सुदूर पश्चिमबाट राष्ट्रिय सभा सदस्यमा नारायण दत्त मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका अत्यन्त निकट मानिन्छन । पौडेलकै सिफारिसमा पार्टी सभापति शेर बहादुर देउवाले उनलाई उम्मेदवार बनाएको हुन् ।

मिश्रको जन्म २०१० सालमा डोटीको खतेडीमा भएको हो । मिश्रमा सानै उमेरदेखि राजनैतिक चेतना थियो । उनी वीपी कोईरालाबाट प्रभावित भएर विद्यार्थी कालदेखि नै नेविसंघको राजनीतिमा होमिएका थिए ।  प्रजातन्त्र र लोकतन्त्रका लागि भएका हरेक आन्दोलनमा उनी सहभागी भए । त्यही कारण २०४२ सालमा उनले ५ महिना जेलमा बिताए ।  २०४७ को जनआन्दोलनमा ३ महिना जेल बसेका मिश्र  २०६२ को आन्दोलनमा सहभागी भएका कारण २ महिना जेलमा बसे ।

उनी नेपाली काँग्रेस कैलाली जिल्ला कार्यसमितिमा २०३७ सालमा सहसचिव भए । टेक बहादुर चोखाल सचिव थिए । मिश्रसंगै गोविन्दराज जोशी र दीर्घराज भाट सह सचिव थिए । उनले २०४८ सालसम्म सह सचिवको भूमिका निर्बाह गरे । प्रजातन्त्रको पुनस्र्थापनापछि भएको जिल्ला विकास समितिको निर्बाचनमा मिश्र उपसभापति भए । सभापति थिए, मोहन बहादुर शाह ।

शाहको निधन भएपछि मिश्र कार्यबहाक सभापति भए । उनले झण्डै चार वर्ष कार्यबहाक सभापति र त्यसपछिका पाँच वर्ष सभापति भएर काम गरे ।  यस अघि मिश्र २०३८ सालमा जिल्ला पञ्चायतको निर्बाचनमा बहुदलको तर्फबाट चुनाव लडेका थिए । मिश्र ५ मतले जिल्ला पञ्चायत सदस्यमा निर्बाचित भएका थिए । 

२०४८ सालमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि पाएको टिकट उनले रामजनम चौधरीलाई छोडेका थिए । कैलालीमा पञ्चायतकालदेखि २०६२/६३  सालसम्म ‘गोविचना’ समूह नेपाली काँग्रेसभित्र चर्चामा थियो । जसमा गोविन्द राज जोशी, बिर बहादुर हमाल, चन्द्र सिंह भट्टराई र नारायणदत्त मिश्र थिए ।  पार्टी फुटेपछि चारै जना कोईराला नेतृत्वको काँग्रेसमा लागे । आजसम्म पनि चारै जना कोईराला समूहमै छन् । पार्टी फुटेपछि यो समूह विस्तारै कमजोर हुदै गयो । त्यसका बाबजुद पनि मिश्रले कोईराला समूहबाट अवसर पाईरहे ।

उनले २०६४ सालमा संबिधान सभाको निर्बाचनको टिकट पाए । त्यतिबेला उनी माओवादीका उम्मेदवार गौरी शंकर चौधरीसंग पराजित भए । २०७० सालमा उनले प्रतिनिधि सभाको टिकट पाए । त्यतिबेला भने आफैले कुनै बेला टिकट छोडेका रामजनम चौधरीसंग पराजित भए । चौधरी त्यतिबेला मधेशी जनाधिकार फोरमबाट चुनाव लडेर जितेका थिए । 

नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सभाको निर्बाचनमा पौडेल पक्षधर प्यानलबाट सभापतिमा लडेका उनी बीर बहादुर बलायरसंग पराजीत भएका थिए ।  उनी पौडेल पक्षधरबाट सबैभन्दा बढि अवसर पाउने नेता हुन् ।