राष्ट्रियसभा निर्वाचन-सुदूरपश्चिमबाट यी हुन् उम्मेदवार
2022/01/04, 11:20
 
neta

माघ १२ गते सातै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन हुँदैछ । विभिन्न कोटाका १९ पदमा हुने निर्वाचनको लागि निर्वाचन आयोगले आज मनोनयन दर्ताको समय तोकेको छ । सुदूरपश्चिम प्रदेशमा बिहान १० देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको निर्वाचन कार्यालय कैलालीका सहायक निर्वाचन अधिकृत प्रेम भट्टले बताए । निर्वाचन कार्यालयमै मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

सत्ता गठबन्धन र एमालेबाट यी हुन् उम्मेदवार

राष्ट्रिय सभाका २० सांसद चार वर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनमा बिदा हुँदैछन् । २० जनामध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । १९ जनाका लागि निर्वाचन हुनेछ । महिला, दलित र अन्य तर्फ आज मनोनयन दर्ता हुनेछन् । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीनै पदमा उम्मेदवारी दिने तयारी गरेको छ भने गठबन्धनको तर्फबाट तीन दलले तीन पद पाएको छ । एमालेले महिला तर्फ कैलाली कि सन्तोष कुमारी शर्मा थापा,दलित तर्फ बैतडीका नरेश विक र खुल्ला तर्फ डोटीका डिल्लीराज भट्टलाई उम्मेदवार बनाएको छ ।

गठबन्धनका तर्फबाट भने सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका एक÷एक जना उम्मेदवार हुने भएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट खुल्लामा कैलालीका नारायण मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेल्धुरका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट महिलामा गरिमा शाहलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।