नेपाली काङ्ग्रेस कैलालीको सचिवमा मिश्रको उम्मेदवारी
2022/01/05, 12:32
 
news

नेपाली काङ्ग्रेस कैलालीको सचिवमा केशव मिश्रले उम्मेदवारी घोषणा गरेका छन्। आज धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै मिश्रले जिल्ला सचिव पदको उम्मेदवार रहेको बताएका हुन् । काङ्ग्रेसलाई सशक्त बनाउन आफूले उम्मेदवारी दिएको उनले बताए ।

“नेपाली काङ्ग्रेस समष्टिगत रूपमा मजबुत बनाउन मैले जिल्ला सचिव पदको लागि उम्मेदवारी घोषणा गरेको हुँ,” मिश्रले भने, “पार्टीका हरेक काम, यहाँका हरेक मुद्दा उठाउने छु । पार्टीका हरेक संघसंगठनलाई मजबुत बनाउन प्रयत्न गर्न म पछि हट्ने छैन् ।”

लामो समय देखि काङ्ग्रेसका काममा जोडिएको बताउँदै काङ्ग्रेसको अभियानमा निरन्तर लागिरहने र सबैका मनोभावना समेटेर काम गर्ने समेत बताए ।   “लामो समय देखिनै म काङ्ग्रेसका काममा जोडिँदै आएको मान्छे हुँ,” उनले भने, “काङ्ग्रेसको अभियानमा निरन्तर हिन्ने सिपाही हुँ । मैले जहाँ उभिए त्यहाँ सबैका मनोभावना समेटेर काम गरेको छुँ ।”

अहिले नेतृत्व गरिरहेको शेर बहादुर देउवाकै टिमबाट आफू चुनाव लड्ने उनले बताए । “काङ्ग्रेसको रूपान्तरण र पुस्ता हस्तान्तरणमा पनि म पात्र बन्न सक्छु। मेरो क्षमता सबैले देख्नुभएको छ मेरो जित्ने आधार यही हो। अहिले सम्म एउटै बिचार समूहको साथीहरू चुनावमा होमिएकाले सहमतिमै नेतृत्व चयन हुन सक्ने सम्भावना छ। सहमति न भए प्यानल बन्छ। अहिले नेतृत्व गरिरहेको शेर बहादुर देउवाकै टिम बाट चुनाव लड्छु । सके सर्वसम्मत नभए चुनाव हुन्छ ,”उनले भने । 

जिल्ला अधिवेशन हुन नसेको १६ जिल्लामा यही पुस २७ गतेका लागि तय भएको थियो । तर काँग्रेस निर्वाचन समितिले माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा व्यस्त रहनुपर्ने कारण देखाउँदै अधिवेशन माघ १५ गते सारिएको छ । 

काँग्रेसको अधिवेशन हुन बाँकी जिल्लामा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरलगायत जिल्ला रहेका छन् । त्यसमध्ये सिराहा र महोत्तरीमा विवाद कायमै रहेको छ ।