महेन्द्रनगर स्थित महाकाली अस्पतालबाट थप १३ जना डिस्चार्ज भएका छन । कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ भर्ना भएका उनीहरुलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गरिएको हो ।
महाकाली अस्पतालका अनुसार डिस्चार्ज हुनेमा कञ्चनपुरको लालझाडी गाउँपालिका ४ का एक पुरुष, पुनर्वास नगरपालिका ५ र ९ का ५ पुरुष तथा कैलालीको गौरीगंगा नगरपालिका ४ का ७ पुरुष डिस्चार्ज भएका हुन । उनीहरु सबै जनालाई सम्बन्धित स्थानीय तहले नै बुझेर लगेको अस्पतालले जनाएको छ ।
‘१४ दिनसम्म अब्जरभेसनमा राखेर डिस्चार्ज गरिएको हो’, महाकाली अस्पतालका डाक्टर सरोज आचार्यले भने, ‘आइसोलेसनमा रहँदासम्म कुनै लक्षण देखिएन र सबैको अवस्था पनि सामान्य रहेको छ ।’ उनका अनुसार डिस्चार्ज भएका सबैजना जेठ २१ गते महाकाली अस्पतालको आइसोलेसनमा भर्ना भएका हुन । अस्पतालबाट सोमबार पनि ११ महिनाको बालक र आइतबार ४ गरी ५ जना डिस्चार्ज भएका थिए ।
लक्षण नदेखिएका बिरामीलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्ने स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार महाकाली अस्पतालले पनि परीक्षण बिना नै संक्रमितहरुलाई डिस्चार्ज गरिरहेको छ । अस्पतालको आइसोलेसनमा अहिले पनि ६ महिला सहित ३३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था सामान्य रहेका डाक्टर आचार्यले बताए ।