सुदूरपश्चिम प्रदेश सरकार भ्रष्टाचारमा लिप्त, कार्यकर्ता आसेपासे पाल्ने काम मात्रै भयो : नैनसहि महर
2022/01/05, 12:43
 
news

नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले सुदूरपश्चिम प्रदेश सरकारको काम कारबाहीबाट जनता निराश भएको बताएका छन्। धनगढीमा नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेश सरकारले जनताको पक्षमा काम गर्न नसक्दा रुष्ठ भएको बताएका हुन्।

‘प्रदेश सरकार भ्रष्टाचारमा लिप्त छ। कार्यकर्ता पाल्ने, आसेपासेलाई फाइदा दिनबाहेक जनताका आधारभुत आवश्यकता पुरा गराउनतर्फ केन्द्रित भएको छैन’ उनले भने,‘यो सरकार जनताको अधिकार, विकासको विपक्षमा छ।’ प्रदेश सरकार तत्काल फेरबदल गर्नुपर्ने बताए।‘संघमा पाँच दलको गठबन्धनको सरकार रहेको छ। प्रधानमन्त्रीमा नेपाली कांग्रेसकै सभापति रहेका छन्’ उनले भने, ‘सुदूरपश्चिम प्रदेशमा कांग्रेसलाई प्रमुख प्रतिपक्षीमा राख्नु र सरकारमा सहभागिता नगराउनु यो सरकारको दुर्भाग्य हो।’

आफुहरुले प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई सुदूरपश्चिम प्रदेश सरकारको काम गराई शैली उचित नभएको र फेरबदल गर्नुपर्ने भनि सुझाव दिँदै आएको बताएका छन्।नेता महरले आफु राष्ट्रिय योजना आयोगको टोलीसँग प्रदेशका नौ वटै जिल्लामा जाँदा विकासको दृष्टिकोणमा शुदूरपश्चिम धेरै पछि रहेको पाएको बताए। उनले भने, ‘पश्चिम सेती परियोजना, बझाङको ताक्लाकोट जोड्ने सडक, फास्ट ट्रयाक, पञ्चेश्वर आयोजना, गेटा विमानस्थलको स्तरोन्नति तथा सुदृढीकरण लगायतका योजनाको कार्य यो सरकारले यथाशिघ्र सम्पन्न गर्नुपर्ने छ।’ उनले गेटा मेडिकल कलेजको काम सम्पन्न भएपनि सञ्चालन हुन नसकेको बताए।

‘मेडिकल कलेजको भौतिक संरचना निर्माण भइसकेका छन। यसलाई प्रतिष्ठान, मेडिकल कलेज वा सुदूरपश्चिम विश्वविद्यालय मातहात सञ्चालन गर्ने भन्ने तीन विकल्पको छलफल भएका रहेछन’ महरले भने, ‘मेरो व्यक्तिगत विचारमा यसलाई छुट्टै मेडिकल युनिभर्सिटी बनाउनुपर्छ। यो नेपालमै पहिलो हुने छ।’