सुदुरपश्चिम वन निर्देशनालयका तत्कालीन निमित्त निर्देशक विष्ट विरुद्ध झण्डै ७ करोडको भ्रष्टाचार मुद्दा
वैज्ञानिक वन व्यवस्थापन प्रकरण:
2022/01/05, 5:14
 
news

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदुरपश्चिम वन निर्देशनालयका तत्कालीन निमित्त वन निर्देशक हेमराज विष्टविरुद्ध झण्डै ७ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ । विष्टले ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै बुधवार विशेष अदालतमा मुद्दा दायर भएको हो ।

अख्तियारले गरेको अनुसन्धानबाट विष्टको वैध आय १७ करोड ३७ लाख १२ हजार ६२९ रुपैयाँको अनुपातमा उनले सिर्जना गरेको सम्पत्ति, खर्च तथा लगानी २४ करोड २४ लाख ६९ हजार ७०९ रुपैयाँ रहेको खुलेको छ। ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ बराबर सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको पुष्टि भएको भन्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत सामुदायिक वन उपभोक्ता समूहमा उपभोक्ता समूहका साधारण सदस्यहरू र पदाधिकारीको कीर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने, एउटै घरलाई एकभन्दा धेरै वन उपभोक्ता समूहमा सदस्य बनी कार्यक्रमअन्तर्गत रुख कटान गर्ने कार्यमा संलग्न गराउने आदि कार्य गरी अख्तियारको दुरुपयोग तथा भ्रष्टाचारमा संलग्न रहेको भनी सार्वजनिक लेखा समितिले थप अनुसन्धानका लागि अख्तियारलाई लिखित आग्रह गरेको थियो ।

सार्वजनिक लेखा समितिले पठाएको फाइलमा अख्तियारले पनि अनुसन्धान गर्दा उनले भ्रष्टाचार गरेको पुष्टि भएको हो। अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार विष्ट २०५५ वैशाख २७ गते वन सेवाअन्तर्गत सहायक वन अधिकृत राजपत्रांकित तृतीय श्रेणी प्राविधिक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए।  २०६८ चैत्र ६ गते उनी जिल्ला वन अधिकृत राजपत्रांकित द्वितीय श्रेणीमा बढुवा भएका थिए । २०७७ कार्तिक १७ गते सम्म उनी सुदुर पश्चिम वन निर्देशनालय, धनगढी, कैलालीमा निमित्त वन निर्देशक पदमा कार्यरत थिए ।

सार्वजनिक पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैर कानूनी रूपमा आर्जन गरेको सम्पत्ति तथा घर जग्गा उनले आफ्नो श्रीमती रुवी जी.सी. (बिष्ट)को नाममा राखेको अनुसन्धानबाट खुलेको छ।  त्यसैगरी नगद पनि श्रीमतीकै नाममा रहेको बैंक खातामा राखेको खुलेको हो। अख्तियारले उनको श्रीमतीलाई पनि प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।