हिउँ छिचोल्दै पर्यटकीयस्थल खप्तडमा भुवा नाच प्रदर्शन
2022/01/08, 8:47
 
dd

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा भुवा नाच प्रदर्शन गरिएको छ । बाजुरा खप्तड छेडेदह गाउँपालिका( १ सिंग्डाका स्थानीयले भुवा नाच प्रदर्शन गरेका हुन् ।  स्थानीय सिंग्डाबाट हिउँ छिचोल्दै चार घण्टाको बाटो हिँडेर खप्तड राष्ट्रिय निकुञ्जमा पुगेका हुन् । खप्तडमा रहेको सिंह सारदुल गुल्ममा भुवा नाच प्रदर्शन गरेका सिंग्डाका जहरी रावलले बताए । 

‘खप्तडमा नेपाली सेना ब्यारेक छ । ब्यारेकमा पूर्वदेखि पश्चिमका सबै खाले व्यक्ति हुन्छन् । सुदूरपश्चिमको पहिचानका रूपमा रहेको भुवा नाच प्रदर्शन गरेको हो’ उनले भने ।  ढोलक, दमाहा, झ्यालीको लयबद्ध तालमा भुवा नाच प्रदर्शन हुन्छ । सेतो आकर्षक पहिरनमा उनीहरू खप्तड पुगे । सेनाको ब्यारेक अगाडि भुवा नाच प्रदर्शन गरे अनि फर्किएका हुन् ।

बाटोभर हिउँ भए पनि पहिलेदेखि खप्तडमा रहेको गुल्ममा भुवा नाच प्रदर्शन गर्ने प्रचलनलाई निरन्तरता दिन खप्तड पुगेको रावलले बताए ।  ‘खप्तड जादा बीचमा कुनै चिया पसलसम्म छैन् । आउँन र जान गरी ८ घण्टा समय लाग्छ’, उनले भने, ‘शुक्रबार विहान १० बजे घरबाट हिँडेका हामीहरू राति ९ बजे मात्र घर पुगेका हुँ ।’ 

हिउँमै भए पनि दमाहा, झ्याली, ट्याम्कोमा बडो जोशका साथ खप्तडमा भुवा नाच प्रदर्शन गरेको अर्को स्थानीय केशव रोकायाले बताए । ‘एक हातमा तरबार र अर्को हातमा ढाल बोकेर खप्तड पुगेको हुँ’ उनले भने, ‘भुवाको रौनक कम हुने नगरी एकसरो कपडामा गयौँ । नाच प्रदर्शन गरेर आयौँ ।’ 

भुवा नाचमा कलाकारहरू कहिले फनक्क घुम्छन् कहिले तरबार उठाउँदै आक्रामक मुद्रा धारण गर्छन् । कतिबेला कलात्मक ढंगले भुइँमा निहुरिन्छन्, कतिबेला शत्रुको प्रहार रोक्ने भावमा ढाल अगाडि तेर्साउछन् ।  दमाहा, ट्याम्को, झ्यालीको तालमा सैनिक हाउभाउसहित कलाकारहरूले उन्मुक्त भावसहित लयवद्धरूपमा प्रदर्शन गरेको नाच हेरिरहँदा दशर्कहरूमा एक किसिमको रोमाञ्च महसुस हुने गर्दछ । 

हरेक दर्शकले आफूभित्र जोश बढेको अनुभव गर्छन् । रगत तात्न थालेको, नसाहरू तन्किन लागेको, छाती फूल्न थालेको अनुभूति हुने गर्दछ ।  हरेक वर्ष पुसको औंशी तिथिबाट सुरु हुने भूवो पर्व मुलतः सैन्ययुद्धको सांस्कृतिक झाँकी हो । खासगरी प्रदेशको बझाङ्ग, बाजुरा, अछाम र डोटीमा भूवो पर्व निकै धुमधामसँग मनाइन्छ । 

यद्यपि, यो पर्व पुरै काली–कर्णाली क्षेत्रको साझा साँस्कृितक पर्व हो । अर्थात्, कर्णालीदेखि सेती, महाकालीको जनजीवनमा भूवो पर्वको अटुट सम्बन्ध रहेको संस्कृतिका जानकारहरू बताउछन् ।