कैलालीमा लामो समयदेखि तीन वटा निर्वाचन क्षेत्र सांसदविहीन
2022/01/09, 12:17
 
ss

कैलालीमा लामो समयदेखि तीन वटा निर्वाचन क्षेत्रका बासिन्दा प्रतिनिधि सभाका जनप्रतिनिधिविहीन छन् । कुल पाँच वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नम्बर १, ३ र ४ जनप्रतिनिधिविहीन छन् ।

प्रतिनिधि सभा निर्वाचन २०७४ मा कैलालीका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित तत्कालीन माओवादी केन्द्रका सांसद गौरीशंकर चौधरी र क्षेत्र नम्बर ४ लेखराज भट्टको निर्वाचन क्षेत्र रिक्त छ । भट्ट पनि तत्कालीन माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए ।

चौधरी र भट्ट दुवै जना अदालतको फैसलाअनुसार तत्कालीन नेकपाको एकता भंग भएर एमालेमा प्रवेश गरेपछि निर्वाचन आयोगको कानुनअनुसार माओवादी केन्द्रको सिफारिसमा सभामुखले उनीहरूलाई पदमुक्त गरेका थिए ।

यस्तै कैलालीको क्षेत्र नम्बर एक सुरुदेखि नै जनप्रतिनिधिविहीन छ । उक्त निर्वाचन क्षेत्रबाट विजयी उम्मेदवार रेशम चौधरी कारागारमा रहेकाले त्यो क्षेत्रका बासिन्दालाई पनि प्रतिनिधिसभामा आफ्नो जनप्रतिनिधिविहीन अवस्था छ । कारागारबाटै निर्वाचनमा प्रतिस्पर्धा गरेका चौधरीले निर्वाचनमा विजयपश्चात् शपथग्रहण मात्र गर्न पाएका छन् ।

कैलालीमा हाल दुई वटा निर्वाचन क्षेत्रमा मात्रै प्रतिनिधिसभामा जनप्रतिनिधि छन् । क्षेत्र नम्बर २ मा एमालेका तर्फबाट निर्वाचित झपट रावल र क्षेत्र नम्बर ५ बाट एमालेकै सांसद नारदमुनि राना प्रतिनिधिसभा सदस्य छन् । प्रतिनिधिसभामा आफ्नो जनप्रतिनिधि नहुँदा विकासमा निर्माण लगायतका अवसरहरूबाट बञ्चित हुनुपरेको स्थानीय बासिन्दाहरू बताउँछन् ।