कैलालीमा ओली पक्षका २ धार, रावल-ओली पक्षीय नेताको बन्यो संयुक्त प्यानल
2022/01/10, 4:01
 
dd

नेकपा एमाले कैलालीको अधिवेशनले सर्वसम्मतिमा नेतृत्व चयन गर्न नसक्दा मतदान हुने भएको छ । नेतृत्वको लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । सुदूरपश्चिमको राजधानी तथा प्रमुख जिल्लासमेत मानिने कैलालीको नेतृत्वका लागि एमाले नेताहरू छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

एकातिर पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापाको प्यानल चुनावी मैदानमा होमिएको छ । सो प्यानलबाट अध्यक्षका लागि वर्तमान कैलाली अध्यक्ष तथा प्रदेश सभा सदस्य रतन थापाले उम्मेदवारी दिएका छन् ।अर्कोतिर पार्टीका पूर्वउपाध्यक्ष भीम रावल र पार्टी अध्यक्ष ओली पक्षीय मानिने एमाले केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज नारदमुनि रानाबीचको संयुक्त प्यानल छ । सो प्यानलबाट वर्तमान उपाध्यक्ष रणबहादुर चन्दले अध्यक्षको लागि उम्मेदवारी दिएका छन् ।

कुनै बेला भीम रावलको कट्टर आलोचक मानिने डेजी पाण्डे पनि हाल रावल र रानाको प्यानलबाट उम्मेदवारी दिएका छन् । रतन थापाविरुद्धको सो मोर्चामा रावल पक्षधर प्रतिनिधि सभा सदस्य झपट रावल, केन्द्रीय सदस्य लीला भण्डारी, कमला ओली, दीपक देवकोटा पनि एकै ठाउँमा उभिएका छन् । 

कैलाली इन्चार्ज रानाले आफूहरू केपी ओलीको भावनाअनुसार रतन थापाको अराजकताविरुद्ध उभिएको बताएका छन् । प्रदेश इञ्चार्ज भट्ट पक्षधरहरूले अध्यक्ष ओलीको नीति र नेतृत्वविरुद्ध भीम रावल पक्षधरहरूले चन्दलाई अघि सारेको आरोप लगाएका छन् ।  रावल पक्षले पार्टीको प्रदेश इन्चार्ज भट्ट र प्रदेश सहइन्चार्ज थापाले भेगीय रुपमा प्यानल खडा गरेको आरोप लगाएको छ । तर, भटट् पक्षबाट अध्यक्षका लागि उम्मेदवारी दिएका थापाले सबै क्षेत्र मिलाएर प्यानलसहित उम्मेदवारी दिएको दाबी गरेका छन् ।

यसअघि आइतबार बिहान ८ बजेका लागि तोकिएको मतदान निर्वाचन समितिले प्राविधिक कारणले भन्दै दिउँसोसम्म सारेको थियो । तर, साँझसम्म मतदान प्रक्रिया शुुरू हुन सकेको थिएन । मतदानमा ढिलाइ भएको भन्दै प्रतिनिधिहरू आक्रोशित भएपछि अधिवेशन स्थलमा तनाव सिर्जना भएको थियो । दुई पक्षबीचको विवादका कारण निर्वाचन समितिले सोमवारसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरेको थियो ।

अधिवेशनबाट ५ पदाधिकारीसहित १५० जनाको समिति छनोट गरिने छ ।