काङ्ग्रेस परित्याग गरी तीन वडा अध्यक्षसहित १६ जना नागरिक उन्मुक्ति पार्टीमा
2022/01/12, 10:38
 
ss

नेपाल काङ्ग्रेस पार्टी परित्याग गरी टीकापुर नगरपालिकाका १६ जना जनप्रतिनिधि रेशम चौधरीको नवगठित नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

बुधबार टीकापुरमा आयोजना गरिएको एक कार्यक्रमकाबीच तीन जना वडा अध्यक्षसहित १६ जना जनप्रतिनिधि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन । सो पार्टी प्रवेश गर्नेमा टीकापुर नगरपालिका–३ का वडा अध्यक्ष रामसेवक महतो, वडा नम्बर ४ का वडा अध्यक्ष लालवीर चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष रामशंकर डङ्गौरा थारु रहेका छन् ।

यसैगरी, कार्यपालिका सदस्य रमेश विक, वडा सदस्यहरु बिना थारु, बलवीर थारु, कन्हैया चौधरी, तुल्सा विक, रुपमति डङ्गौरा थारु, प्रेमलाल चौधरी रहेका छन् । यस्तै, आशा थारु, सरिता भुल, चक्रबहादुर चौधरी, जमुना चौधरी, रामशंकर चौधरी र भागीदेवी कामी रहेका छन् ।

उनीहरु सबै जना नेपाली काङ्ग्रेस पार्टी परित्याग गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । नेपाली काङ्ग्रेसले तीन दिनको म्याद दिएर १६ जनालाई नागरिक उन्मुक्ति पार्टीमा आवद्ध रहेरनरहेको भन्दै स्पष्टिकरण माग गरेको थियो । उनीहरु सबैले नागरिक उन्मुक्ति पार्टीमा आवद्ध भएको स्पष्ट पारेका छन् । 

केही दिन अगाडिमात्रै रेशमका श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी दर्ता गरिएको थियो ।