प्रशासनको आदेश अबज्ञा गर्दै माओवादीले किन डाक्यो सुदूरपश्चिम भेला ?
2022/02/01, 3:22
 
ss

कोरोना प्रोटोकल विपरित नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले प्रदेश कमिटीको बैठक बोलाएका छन् । उनले सूचना जारी गर्दै माघ २० र २१ गतेका लागि बैठक बोलाएका हुन् ।

‘केन्द्रिय कमिटीले पत्राचार गरी अबिलम्ब प्रदेश कमिटीलाई पूर्णता दिनु भनी निर्देशन प्राप्त भएकाले आन्तरिक गृहकार्य गर्न केन्द्रीय सदस्यहरुले माघ २० गते र प्रदेश सदस्यहरुले माघ २१ गते प्रदेश कार्यालयमा उपस्थित हुन निर्देशन गरिन्छ,’ इन्चार्ज भट्टले जारी गरेको पत्रमा भनिएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कमिटीमा सुदूरपश्चिमबाट २३ जना सदस्यहरुले प्रतिनिधित्व गर्छन् । यसैगरी, प्रदेश कमिटीमा २ सय २० जना सदस्य छन् । सुदूरपश्चिम प्रदेशमा कोरोना बढी रहेको छ । जिल्ला प्रशासनहरुले २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम तथा भेला नगर्न निर्देशन दिएका छन ।

माओवादीले बोलाएको बैठकमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट समेत सहभागी हुनेछन् । मुख्यमन्त्री भट्ट माओवादीका केन्द्रीय सदस्य हुन् । उनकै सरकारले पनि २५ जना बढी भेला हुन नपाउने प्रोटोकल बनाएको छ ।

२५ जना भन्दा बढी सहभागी हुने कार्यक्रम नगर्ने आदेश जारी भएको अवस्थामा माओवादी केन्द्रले भेला गर्न नहुने कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । ‘भेलाको विषयमा मुख्यमन्त्री ज्यूले पनि सोध्नु भएको थियो, अहिले २५ जना भन्दा बढी सहभागी हुने नगर्नुहोला भनेका छौं,’ उनले भने, ‘कोरोना बढी रहेको छ, यो अवस्थामा भिडभाड हुने कार्यक्रम गर्दिनु भएन् ।’

स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्ण पालना गरी बैठक गरिने माओवादी केन्द्रका प्रदेश इन्चार्ज भट्टले बताए । ‘सामाजिक दुरी कायम गरेर कार्यक्रम गर्छौ, त्यहाँ सहभागीहरुको अनिवार्य स्वास्थ्य परिक्षण हुन्छ,’ उनले भने, ‘स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्छौ, त्यति जोखिम हुँदैन् ।’

प्रदेश कमिटीलाई पूर्णता दिनका लागि बैठक बोलाइएको उनले बताए । ‘उक्त बैठकबाट प्रदेश कमिटीलाई पूर्णता दिन्छौं,’ उनले भने । कोरोना महामारिका बेला बैठक बोलाएपछि माओवादीभित्रै बिरोध भएको छ ।