आज पनि डोटीको कपल्लेकी गाउँमा विकासका सबै प्रारुपहरू तयार भइसकेका छैनन् । सामान्य सडक, माध्यमिक शिक्षा र बत्तीको उज्यालोसम्म पुगे पनि आधुनिक विकासका सबै पूर्वाधार यो गाउँमा पुगेका छैनन् ।
हुन त मुलुक संघीयतामा गइसकेको छ । नजिकै संघीय सरकार र स्थानीय विकासका लागि गाउँमै सिंहदरबार छ । र पनि सुदूरपश्चिमको यो सुदूर गाउँ अझै विकट नै हो भन्दा अतिसयोक्ति नहोला । हो, यही गाउँले जन्माएको हो, डा. गुणाकर भट्ट । जो यतिबेला नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक र यही पुस १ देखि दोस्रोपटक राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्छ । विकट गाउँको सामान्य परिवारमा जन्मिएर जीवन निर्वाहको सरल बाटो पक्रिनुभएका भट्टले एकाएक यहाँसम्मको यात्रा तय गर्नुभएको होइन । पढ्दै, पढाउँदै, एकपछि अर्को चुनौतीसँग पौठेजोरी खेलेर मिलेको ओहोदा हो यो ।गाउँमा सँगैका दौतरीभन्दा उहाँको चेतना र समझको स्तर केही फराकिलो थियो । त्यो किन पनि भने शिक्षक पिताजी स्वर्गीय लीलाधर भट्टले उहाँलाई देश, विदेशका सूचना, समाचार, प्रगति र अवसरका विषयमा जानकारी गराइदिनुहुन्थ्यो । गाउँकै केदारेश्वर माविबाट एसएलसी गर्नुभएका भट्टले त्यसपछिको यात्रा भने विद्यार्थीका रुपमा मात्रै गर्नुभएन । एक अब्बल शिक्षकका रुपमा पनि आफूलाई स्थापित गर्दै लग्नुभयो ।
आजका बैंक प्रशासक, कुनै दिनका शिक्षक
‘पढ्दै पढाउँदै मेरो जीवनले लय पक्रिएको हो’, डा. भट्टले भन्नुभयो, ‘आई कमको परीक्षा दिएर गाउँ गएकै बेला मैले डोटी सीमचौरको पोखरी गाउँमा रहेको अमर प्राविमा पढाउन सुरु गरेको थिएँ ।’ २०४८ सालमा भट्ट आफै १७, १८ वर्षको ठिटो हुँदा गाउँदेखि कोशौं टाढा विद्यार्थीलाई शिक्षा दीक्षा दिन निस्कनुभयो । ‘त्यो सायद एकातिर शिक्षक पिताजीको प्रेरणा थियो, अर्को कुरा पारिवारिक आर्थिक अवस्थालाई टेवा पुर्याउने उद्देश्य पनि थियो होला’, उहाँले भन्नुभयो ।
जिल्ला शिक्षा कार्यालयले लिएको परीक्षामा नाम निकालेर पोखरीमा पढाउन थालेको यात्रा धेरै लामो भने भएन । उहाँ एक वर्ष अध्यापन गरेर त्यहाँबाट बिदा हुनुभयो । कारण थियो स्नातक तहको अध्ययनलाई अगाडि बढाउनु । कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह पढ्दैगर्दा उहाँले सुरुमा अत्तरियामा रहेको पुष्पाञ्जली स्कुल र पछि धनगढीकै ग्यालेक्सी स्कुलमा पढाउन सुरु गर्नुभयो । यही बन्छु भन्ने कुनै योजना र सपना नबुने पनि आज देशको मौद्रिक नीति तर्जुमा, आर्थिक अनुसन्धान र आर्थिक विषयको टिप्पणीकारको भूमिका निर्वाह गर्नुपूर्व डा. भट्टको यात्रा शिक्षण पेशामै तय जारी रह्यो ।
२०४८ सालमा भट्ट आफै १७, १८ वर्षको ठिटो हुँदा गाउँदेखि कोशौं टाढा विद्यार्थीलाई शिक्षा दीक्षा दिन निस्कनुभयो । ‘त्यो सायद एकातिर शिक्षक पिताजीको प्रेरणा थियो, अर्को कुरा पारिवारिक आर्थिक अवस्थालाई टेवा पुर्याउने उद्देश्य पनि थियो होला’, उहाँले भन्नुभयो ।आफू त्रिभूवन विश्वविद्यालयको सेन्टर डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबीए गरिरहँदा उहाँले वीरेन्द्र शैनिक आवासीय महाविद्यालय सल्लाघारीमा स्थायी शिक्षकका रुपमा पढाउनु भयो । त्यसपछि एमबीएमा सर्वोत्कृष्ट स्थान प्राप्त गरी स्वर्णपदक हासिल गर्नुभयो । त्यसको केही समयपछि करिब एक वर्ष मीनभवन क्याम्पस र केही समय सेन्टर डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा पनि पढाउनुभयो । काठमाडौं युनिभर्सिटीबाट सम्बन्धन प्राप्त काठमाडौं कलेज अफ म्यानेजमेन्टमा पढाउँदा उहाँले स्वर्गीय राजकुमार निराजन विरविक्रम शाहलाई समेत पढाउनुभयो । त्यस क्रममा निराजनलाई पढाउन कैयौँपटक दरबारसम्म पनि पुगेको उहाँ स्मरण गर्नुहुन्छ । राजदरबार हत्याकाण्डमा आफ्ना विद्यार्थी निराजन पनि नरहेको खबरले उहाँलाई निकै पीडाबोध भएको थियो ।
उसो त साहित्यिक मन भएका भट्टलाई समाजका हरेक साना साना कुराले नछुने होइन । आफूले ३० वर्ष अघि एसएलसी दिएर छोड्दाको गाउँको मुहार अझै किन फेरिन सकेन ? भन्ने प्रश्नले उहाँलाई पनि पिरोल्ने गरेको छ । गाउँबाट सहरतिर भएको दु्रत बसाई सराई पहाडी बस्तीको विकास नहुनुको एउटा प्रमुख कारण हो भन्ने उहाँको बुझाइ छ । यस्ले पहाडका गाउँको विकासका लागि दबाब दिने काममा बाधा पुर्याएको उहाँको धारणा छ ।
त्यो मात्र होइन नेपालको ठूलो सम्भावना भएको पहाडी क्षेत्रलाई कसरी विकसित गर्ने भन्ने विषयमा पछिल्लो समय राजनीतिक दलबीच बहस नहुनु पनि समस्याको विषय भएको उहाँ देख्नुहुन्छ । गाउँमा अवसर भएनन्, राम्रो शिक्षा भएन, ठूला पूर्वाधार तराईका सहर केन्द्रित भए, विश्वविद्यालय गाउँमा खुल्न सकेनन्, यही कारण गाउँअझै पनि पछौटेपन सहि रहन वाध्यभएको उहाँ देख्नुहुन्छ ।
विभिन्न विद्यालय र कलेजमा करिब एक दशक पढाउनुभएका भट्ट २०५६ तिर कृषि विकास बैंकमा अधिकृतका रुपमा प्रवेश गर्नुभयो । कृषि विकास बैंकमा जागिर थालेको केही समय हुँदै थियो । त्यहीबेला राष्ट्र बैंकले विश्वविद्यालय टपरहरुबाट भ्याकेन्सी माग्यो । टीयूबाट एमबीएमा स्वर्णपदक विजेता भट्टले खुला प्रतिस्पर्धामा भाग लिनुभयो । उहाँको नाम निस्कियो । त्यसपछि २०५७ असार १ देखि उहाँ राष्ट्र बैंकमा अधिकृतको रुपमा प्रवेश गर्नुभयो ।
सेवा प्रवेशदेखि नै उहाँ राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा रहेर लामो समय काम गर्नुभयो । त्यहीबेला अमेरिकाको म्यास्याचुसेट्स राज्यमा रहेको विलियम्स कलेजले खोलेको छात्रवृतिमा उहाँको नाम निस्कियो । उहाँले त्यहाँबाट स्नातकोत्तर गरेर फर्कनुभयो ।
‘फर्केर मैले आन्तरिक प्रतियोगिताबाट अधिकृत द्वितीय अर्थात उपसचिव सरहको तहमा नाम निकालेँ’, उहाँले भन्नुभयो । उक्त जिम्मेवारीमा बसेर दुई वर्ष काम गरेपछि उहाँ फेरि पीएचडीका लागि अमेरिका जानुभयो । अमेरिकाको मिसिगन राज्यमा रहेको वयन स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधी गरेर आएपछि उहाँ आन्तरिक प्रतिस्पर्धाबाट प्रथम श्रेणी अधिकृत हुनुभयो ।
त्यसपछि उहाँ धनगढीस्थिति क्षेत्रीय कार्यालयको प्रमुख भएर जानुभयो । धनगढीबाट फर्केर उहाँ फेरि आर्थिक अनुसन्धान विभागमै निर्देशकको जिम्मेवारीमा रहेर काम गर्नुभयो । त्यसताका उहाँले मौद्रिक नीति तर्जुमादेखि सरकारलाई आर्थिक सल्लाह दिने विषयमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । २०७५ साल कार्तिकमा विशिष्ट श्रेणीमा बढुवा हुनुभएका भट्ट यतिबेला सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक र हाल दोस्रो पटक प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्छ ।
राष्ट्र बैंकजस्तो नियमनकारी निकायमा रहेर उहाँले सम्झनलायक काम के गर्नुभयो त ? मौद्रिक नीति तर्जुमामा उहाँको भूमिका महत्वपूर्ण रह्यो । कोभिडको समयमा आर्थिक पुनरुत्थानलाई सहयोग पुग्नेगरी मौद्रिक नीति तर्जुमा गर्नमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । विभिन्न बैंकहरुले मुनाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने र त्यसमध्ये हरेक प्रदेशमा १० प्रतिशत खर्च गर्नैपर्ने नीति तर्जुमा गर्न पाउँदा आपूmलाई निकै सन्तोष मिलेको उहाँ बताउनुहुन्छ ।
बैंकहरुको ब्याजदर सम्बन्धी व्यवस्था पारदर्शी बनाउने, ऋणपत्र निकाल्नैपर्ने व्यवस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय निकायसँगको समन्वय र सम्बन्ध प्रभावकारी बनाउन भूमिका निर्वाहदेखि बैंकहरुको वित्तीय स्थायित्वका लागि भूमिका निर्वाह मात्र होइन कोभिडको समयमा सबै सरोकारवालाले बुझ्नेगरी राष्ट्र बैंकका नीतिका बारेमा सूचना सम्प्रेषण गर्न समेत उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । स्वायत्त र कसैको दबाबमा नपरि काम गर्ने स्वभावकै कारण राष्ट्र बैंकले धेरै सकारात्मक कार्यहरु गर्न सकिरहेको उहाँको बुझाइ छ । बैंकको जागिरेका रुपमा मात्रै बयान गरिरहँदा उहाँको परिचयमाथि अन्याय ठहर्न सक्छ । उहाँ एक अब्बल साहित्यकार र समाजसेवीका रुपमा पनि परिचित हुनुहुन्छ ।
दुई वर्ष राष्ट्र बैंकको धनगढी शाखामा रहँदा विद्यार्थी कालमा जोडिएको सम्बन्धलाई उहाँले साहित्यिक गतिविधिमा झन प्रगाढ बनाउनुभयो । सुदूरपश्चिमाञ्चल साहित्य समाजलाई थप माथि पुर्याउन उहाँको योगदान सदाकाल स्मरणीय रहेको साहित्य समाजको अहिलेको नेतृत्वले पनि सम्झना गर्ने गरेको छ । एक शिक्षक, त्यसपछिको बैंक प्रशासक, कसरी जोडियो साहित्यसँग साइनो ?
जसले गरेका थिए साहित्यसमाजको न्वारन
यो कुरा अहिलेको पुस्तालाई थाहा नहुनसक्छ । जनताले जन्माएको देशभरमै हालसम्मको ठूलो र साहित्यिक गतिविधिमा सक्रिय सुदूरपश्चिमाञ्चल साहित्य समाजको नामाकरण नै डा गुणाकर भट्टले गर्नु भएको हो ।
कैलालीका तत्कालिन प्रमुख जिल्ला अधिकारी राममणि रिशाललाई कन्भिन्स गरेर उहाँले यो नाम टुंग्याउनु भएको थियो । क्याम्पस पढ्दापढ्दै उहाँ धनगढीमा साहित्यिक गतिविधिमा संलग्न हुँदा एउटा संस्थागत संरचनाको आवश्यकता महसुस गरेर उहाँकै प्रस्तावमा धनगढीका साहित्यिकारहरुको भेलाले सुदूर पश्चिमाञ्चल साहित्य समाज स्थापना गर्ने निर्णय गरेको थियो । जुन समाजको उहाँ संस्थापक सचिव हुनुहुन्छ ।
जनताले जन्माएको देशभरमै हालसम्मको ठूलो र साहित्यिक गतिविधिमा सक्रिय सुदूरपश्चिमाञ्चल साहित्य समाजको नामाकरण नै डा गुणाकर भट्टले गर्नु भएको हो । कैलालीका तत्कालिन प्रमुख जिल्ला अधिकारी राममणि रिशाललाई कन्भिन्स गरेर उहाँले यो नाम टुंग्याउनु भएको थियो ।
धनगढीमा निजी प्रयासमा स्थापना भएका सार्वजनिक संस्थामध्ये अविन्छिन्न रुपमा अगाडि बढेको यो मात्रै एउटा संस्था हुनसक्छ । जसले पछिल्लोपटक रामलाल जोशीको कार्यकालमा आफ्नै तीनतले भवन मात्रै स्थापना गरेन २०७६ साल फागुनमा देश विदेशका साहित्यकार, लेखकलाई निमन्त्रणा गरेर मोफसलमा आजसम्मकै विशाल सप्ताहव्यापी अन्तर्राष्ट्रिय लेखक सम्मेलन आयोजना गर्यो । आगामी माघमा पनि विशाल साहित्यिक कार्यक्रम गर्दैछ ।
विक्रम संवत २०५७ माघ २ गते गीता पन्तसँग वैवाहिक बन्धनमा बाँधिनुभएका भट्टको व्यक्तिगत जीवन सामान्य र सरल भए पनि दूरदराजमा रहेका गाउँ र त्यहाँको जीवनप्रति भने निकै गहिरो लगाव छ । ‘जसको कोही छैन उसका लागि सरकार आफ्नो हुनुपर्छ, सरकारी संयन्त्र उसको सहयोगी बन्न सक्नुपर्छ’ भन्ने भावना र चाहना भट्टको बोली, व्यवहार छ । उहाँको कमजोरलाई सम्मान गर्ने बानीले नै यो प्रष्ट पनि हुन्छ । हाल श्रीमती, आमा र छोरीहरुकासाथ काठमाडांैमा बसिरहनुभएका भट्टले दुई छोरीलाई पनि असल विचार र मिजासिलो व्यवहारको प्रेरणा दिइरहनु भएकै छ ।
‘आज पनि लाग्छ जसको बोलिदिने कोही छैन, भनिदिने कोही हुँदैन उनीहरुसम्म बैंक पुग्नुपर्छ भन्ने मेरो चाहना हो’, उहाँले भन्नुभयो, ‘त्यो मात्र होइन, राज्यका हरेक सुविधा जबसम्म बोलिदिने मान्छे नभएका सर्वसाधारणसम्म पुग्दैन तबसम्म सन्तुलित विकासको परिकल्पना गर्नु नै बेकार हो ।’
आज आएर संस्थागत सुशासन कसरी कायम गर्ने भन्ने चुनौती थपिँदै गएको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, ‘निहीत स्वार्थमा संस्था उपयोग हुनथाले भने बैंकिंङ साधन केही सीमित व्यक्तिको हातमा हुने हो कि भन्ने डर छ ।’ वित्तीय साधनलाई राजनीतिक र व्यापारिक स्वार्थपूर्तिका लागि प्रयोग गर्ने विषय ठूलो समस्याका रुपमा आउनसक्नेप्रति सचेत हुनुपर्ने उहाँको धारणा छ ।
(शिवराज योगीले लेखेको यो आलेख युवामञ्चबाट साभार)