सिल गरिएको डडेलधुराको गन्यापधुराका कोरोना संक्रमित स्थानीयसँग घुलमिल गरेको पाईयो
2020/06/19, 2:25
 
korona

डडेलधुराको गन्यापधुरा गाउँपालिकामा बिहीबार संक्रमण पुष्टि भएका ५८ जनामध्ये अधिकांश गाउँमा गएर स्थानीयसँग घुलमिल भएको पाईएको छ । स्वाब परीक्षणको रिपोर्ट नआउँदै उनीहरूलाई दुई साताअघि आरडीटी गरेर क्वारेन्टाइनबाट पठाइएको थियो ।  ‘क्वारेन्टाइनबाट घर फर्केकाहरू मेलापात, रोपाइँदेखि पटक पटक किनमेलका लागि सदरमुकामसमेत पुगेका छन्,’ गन्यापधुरा–२ का जयबहादुर टमटाले भने, ‘दुई हप्तासम्म उनीहरूले धेरैसँग भेटघाट र उठबस गरिसकेकाले संक्रमण समुदायमा फैलिसकेको हुन सक्छ ।’

आरडीटीमा नेगेटिभ देखिएकाहरूको पीसीआर रिपोर्ट पोजिटिभ आएको गन्यापधुरा गाउँपालिकाका प्रमुख नवलबहादुर मल्लले बताए । ‘संक्रमण पुष्टि भएका मध्ये २० जना क्वारेन्टाइनमा र अरू ३६ जना घरमै छन्,’ उनले भने, ‘अस्पताल पठाउने या नपठाउने टुंगो भएको छैन, सुरक्षाकर्मी सहित चिकित्सकको टोली घर घरमा पठाउने तयारी भइरहेको छ ।’ गाउँपालिकाका अनुसार संक्रमण पुष्टि भएका सबै जेठ १० गते भारतबाट फर्केका हुन् । १४ दिन क्वारेन्टाइनमा बसेपछि घर पठाइएका उनीहरूमध्ये अधिकांश सुरक्षित होम क्वारेन्टाइनमा वसे पनि केही भने रोपाइँदेखि विभिन्न ठाउँमा गएको जानकारीमा आएको मल्लले बताए ।

‘के गर्ने, के नगर्ने, हामी सबै अलमलमा छौं,’ उनले भने, ‘गाउँपालिका शुक्रबारदेखि असार १२ गतेसम्मका लागि सिल गरेका छौं ।’ यस अवधिमा संक्रमितको सम्पर्कमा आएका सबैको परीक्षण गरिने मल्लको भनाइ छ । जिल्लामा भारतबाट आएका मध्ये सबैभन्दा बढी गन्यापधुरा गाउँपालिकाका छन् । गाउँपालिकाको तथ्यांक अनुसार असार ५ गतेसम्म भारतबाट आउनेको संख्या १ हजार २ सय नाघेको छ । क्वारेन्टाइनमा रहेकाको संख्या निकै कम छ ।

अधिकांशलाई आरडीटी गरेर घर पठाइएको गाउँपालिकाले जनाएको छ । स्थानीय प्रशासनले संक्रमण पुष्टि भएकालाई उपचारको व्यवस्था मिलाउन कुनै प्रयास गरेको देखिँदैन । गन्यापधुराका एक संक्रमितले अस्पताल जान पाउनुपर्ने माग राख्दा तातोपानी खाएर घरमै बस्न भनिएको गुनासो गरे । ‘संक्रमण पुष्टि भएपछि पाउनुपर्ने सामान्य उपचार पनि हामीले पाउन सकेका छैनौं,’ उनले भने ।

बिहीबार डडेलधुरामा कुल ८३ जनामा संक्रमण पुष्टि भएको छ । अन्यमा परशुराम नगरपालिकाका २१ र अजयमेरु गाउँपालिकाका ४ जना छन् । उनीहरू कसैलाई पनि उपचारका लागि अस्पताल लगिएको छैन ।