सभापतिको उम्मेदवारबाट पछि हट्दैन: बम
2022/02/15, 8:56
 
dd

नेपाली काँग्रेस कैलालीका कार्यवाहक सभापति प्रकाशबहादुर बमले काँग्रेसको आसन्न जिल्ला अधिवेशनमा आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन् । धनगढीमा पत्रकार सम्मेलन गरेर उनले सभापतिमा निर्वाचन लड्ने घोषणा दोहो¥याएका हुन् ।

बम यसअघिनै सभापतिमा उम्मेदवारी घोषणा गरेर प्रचारप्रचारमा जुटेका थिए तर मंसिर १० गते तोकिएको अधिवेशन हुन सकेन । त्यसपछि माघमा हुने भनिएको अधिवेशन पनि सरेर फागुन १३ गते नयाँ मिति तोकिएको छ । उम्मेदवारी नदिने भनेर आफ्नोबारे गलत हल्ला फैलाइएको भन्दै बमले उम्मेदवारबाट आफू कुनै पनि हालतमा पछि नहट्ने प्रतिवद्धता जनाए ।

‘मलाई भूमि आयोगको अध्यक्ष बनाउने निश्चित भइसकेको र अर्का उम्मेदवार नारायणदत्त भट्टलाई समर्थन गरेको भन्ने हल्ला चलाइएको छ ।’ उनले भने, ‘मलाइ अहिलेसम्म आयोगको अध्यक्ष बन्ने अफर आएको छैन । आए पनि म त्यसलाई स्वीकार गर्दैन, पार्टी राजनीतिमा सक्रिय हुन चाहन्छु ।’ भूमि आयोगको अध्यक्षभन्दा माथिल्लो तहमा सरकारी नियुक्तको प्रस्ताव आए पनि त्यसलाई अस्वीकार गरेर सभापतिमा चुनाव लड्ने उनको अडान छ । 

सभापतिमा निर्वाचित भएर जिल्लामा काँग्रेसको संगठनलाई बलियो बनाउन र आगामी निर्वाचनमा कैलालीमा काँग्रेसका उम्मेदवारलाई निर्वाचित गराउने आफ्नो लक्ष्य रहेको बमले बताए । ‘प्रकाश बमले उम्मेदवारी दिँदैन । नारायण भट्टलाई समर्थन गरिसक्यो भन्ने हल्ला चलाइएको छ ।’ उनले भने, ‘मलाई सभापतिमा रोक्न चलाइएको यो गलत हल्ला हो । अन्तिम समयसम्म मेरो उम्मेदवारी कायम रहन्छ । प्रतिनिधिहरुलाई भ्रममा नपर्न आग्रह गर्छु ।’

सभापतिमा रोक्नसक्ने संभावना नदेखेपछि केही उम्मेदवार र नेताहरुले यो हल्ला फैलाएको उनको आरोप छ । बाहिर चलाइएको हल्ला गतल भएकोले त्यसलाई आफूले खण्डन गरेको बमले बताए । सभापतिका उम्मेदवार बमले सबै क्षेत्रलाई मिलाएर आफूले एक÷दुई दिनभित्रै टीम घोषणा गर्ने जानकारी दिए ।

पार्टीको केन्द्रले अहिलेसम्म कुनै उम्मेदवारलाई समर्थन नगरेको पनि उनले प्रष्ट पारे । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणाले कुनै उम्मेदवारलाई समर्थन गरिसकेको भन्ने हल्ला पनि झुठो भएको बमको भनाइ छ । अहिले सभापतिमा आकांक्षा देखाए सबै उम्मेदवार देउवा पक्षकै रहेका र केन्द्रले अहिलेसम्म कसैलाई पनि उम्मेदवार नतोकेको उनले बताए ।

पार्टी सभापति देउवा र आरजुको नाम जोडेर प्रचार गर्दै नेतृत्वलाई विवादमा ल्याउने काम गर्न खोजिएको उनले बताए । ६० प्रतिशतभन्दा बढी प्रतिनिधि आफ्नो पक्षमा रहेकाले आफू सभापतिमा निर्वाचित हुने दावी पनि उनले गरे । जिल्लामा सहमतिका आधारमा नेतृत्व चयन हुने संभावना पनि कम रहेको बमको भनाइ छ ।

सभापतिका उम्मेदवार बमले २०३६ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भएर काँग्रेसको राजनीति सुरु गरेका थिए । उनी २०४२ सालमा काँग्रेसबाट तत्कालीन जिल्ला पञ्चायत सदस्य तथा प्रजातन्त्र वहालीपछि भएको स्थानीय तहको पहिलो निर्वाचनमा जिल्ला विकास समिति सदस्यमा निर्वाचित भएका थिए । सदस्य, सचिव र उपसभापति भएर उनले १५ वर्ष काँग्रेस जिल्ला कार्यसमितिमा काम गरेका छन् ।

काँग्रेस महाधिवेशन सम्पन्न भइसके पनि कैलालीलगायत केही जिल्लाको अधिवेशन हुन सकेको छैन । आगामी फागुन १३ गते अधिवेशनको मिति तय गरिएको छ । पार्टी सभापति देउवा पक्षको बर्चश्व रहेको कैलालीमा देउवा पक्षकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । सभापतिमा बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेम चौधरीलगायतले उम्मेदवारी घोषणा गरेका छन् ।