काँग्रेस कैलालीको सभापतिका लागि ७ इच्छुक, कस्ले मार्ला बाजी ?
2022/02/15, 9:09
 
ss

पटक पटक स्थगित हुँदै आएको नेपाली काँग्रेस कैलालीको अधिवेशन तय भएपछि जिल्लामा चुनावी सरगर्मी बढेको छ। फागुन १३ मा अधिवेशन गर्न केन्द्रले निर्देशन दिएसँगै काँग्रेसमा आन्तरिक चुनावी सरगर्मी बढेको हो। चुनावको नयाँ मिति नजिकिएसँगै नेताहरु उम्मेदवारी घोषणा गर्दै मतदाता रिझाउन थालेका छन् । मंगलबार मात्रै नेपाली काँग्रेस कैलालीका कार्यवाहक सभापति प्रकाश बमले दोस्रो पटक पत्रकार सम्मेलन गर्दै जिल्ला सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन्।

यसअघि पनि पत्रकार सम्मेलन मार्फत सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका बमले सो समयमा अधिवेशन स्थगित भएपछि मंगलबार फेरि घोषणा गरेका हुन्।  लामो समयदेखि आफु काँग्रेसमा संक्रिय रहेको बताउँदै उनले पार्टीलाई जनतामाझ लोकप्रिय बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्। ‘१५ वर्षदेखि जिल्लाको कार्यसमितिमा बसेको छु। मेरो अहिलेसम्मको अनुभवका आधारमा पनि म पार्टी चलाउन सक्छु’ उनले भने। 

जिल्ला सभापतिका लागि अहिलेसम्म बम सहित ७ जना नेताहरु चुनावी मैदानमा उत्रिने संकेत देखिएको छ। संस्थापन अर्थात शेरबहादुर देउवाका पक्षबाट अहिलेसम्म ६ जना उम्मेदवार देखिएका छन् भने, एक जनाले इतर अर्थात शेखर कोइराला पक्षबाट आफ्नो उम्मेरदवारी दिने बताएका छन्। जिल्ला सभापतिका दाबेदार भीम बडुवालले पनि पार्टीको हितका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्। ‘काँग्रेसलाई आउने निर्वाचनमा २ तिहाई दिनका लागि मेरो उम्मेदवारी हो। कार्यकर्ताले शिर ठाडो पर्ने काँग्रेस म बनाउँछु’ उनले भने। 

कैलालीको जिल्ला सभापतिका लागि बम र बडुवालसँगै शेरबहादुर देउवाकै पक्षबाट नारायणदत्त भट्ट, प्रकाश बम, खेमराज चौधरी, गणेश देउवा र नवराज रावलले चुनाव लड्ने बताएका छन्। यस्तै जिल्ला सभापतिका लागि कोइराला पक्षबाट भने रामबहादुर कलेल चुनावी मैदान उत्रिने देखिएका छन्। ‘अहिले पार्टीमा एक अर्काको अस्तित्व स्वीकार नगर्ने प्रवृती देखिएको छ,’ कलेलले भने, ‘पार्टीलाई विवादरहित बनाउनका लागि मैले सभापति लड्दै छु।’

जिल्ला सभापतिका लागि केन्द्रीय सभापति तथा प्रधानमन्त्री देउवाले नारायणदत्त भट्टलाई ग्रिन सिग्नल दिएको चर्चा छ। तर देउवाको उक्त निर्णयमा वर्तमान जिल्ला नेतृत्व सहमत हुन नसकेको काँग्रेस कार्यकर्ता बताउँछन्। सभापति पदकै आकाक्षी नारायणदत्त भट्टले भने जिल्लालाई काँग्रेसमय बनाउने दाबी गरेका छन्। उनी भन्छन्, ‘सबै नेता कार्यकर्तालाई मिलाएर लैजाने छु। पार्टी बलियो बनाउनकै लागि मेरो उम्मेदवारी हो।’

जिल्ला उपसभापतिमा लोकराज पाण्डे ‘आगो’, प्रकाश देउवा, रामप्रसाद चौधरी र तेजशंकर भट्टले इच्छा देखाएका छना्। सचिव पदका लागि नृप सुनार, केशव मिश्र, कृष्ण पाण्डे, थर्कबहादुर शाह, देवानन्द जैशी र अमृत विसी दौडमा छन्।