नेपाली काँग्रेस कैलालीको संस्थापन इतर पक्षको सुदृढीकरण प्रयास अभियान तीव्र
2022/02/16, 10:23
 
11

नेपाली काँग्रेस, कैलालीको आसन्न अधिवेशनलाई लक्षित गरेर संस्थापन बाहेकको पक्षले सुदृढीकरण प्रयास अभियान तीव्र बनाएको छ ।  पूर्व केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री चन्द्रसिंह भट्टराई, पूर्व जिल्ला सभापति गोविन्दराज जोशी, नेता वीरबहादुर हमाल, वर्तमान जिल्ला सचिवद्वय पूर्ण कुँवर र दीपकराज जोशी, रामचरण चौधरी, रामबहादुर कलेल लगायतका नेताहरूको अगुवाइमा झण्डै दुई महिनादेखि सुदृढीकरण अभियान जारी रहेको छ ।

बुधवार धनगढीमा आयोजित पत्रकार सम्मेलन मार्फत इतर पक्षीय नेताहरूले जिल्लामा काँग्रेसलाई आम नागरिकको भरोसा लाग्दो पार्टीका रूपमा रूपान्तरण गर्ने अभिभारा पुरा गर्न अभियानलाई वडा तहसम्म विस्तार गर्ने गरी कार्यक्रम अघि बढाइएको जानकारी गराएको हो ।  संस्थापन इतर पक्षले पार्टी नेतृत्वमा आफूसँग असहमत पक्ष तथा नेता कार्यकर्ताहरुलाई पाखा लगाउने ढङ्गले कारबाहीको अस्त्र प्रयोग गर्ने प्रवृत्ति बढेको आरोप लगाउँदै  आफू नजिकका नेता कार्यकर्ताहरुको जस्तोसुकै गलत कार्यलाई ढाकछोप गर्ने र असहमत पक्षका नेताकार्यकर्ताहरुलाई अपमानमाथि अपमान गर्ने काम भइरहेको बताएको छ ।

यस्तै  पार्टीभित्र पछिल्ला वर्षहरूमा मौलाएको चरम गुटबन्दी र आफूसँग असहमत पक्षप्रतिको घोर पूर्वाग्रही सोच र व्यवहारका कारण पार्टी सङ्गठन कमजोर बनाउन मलजल गरेको आरोप समेत छ ।  पत्रकार सम्मेलनमा नेताहरू भट्टराई, जोशी र कुँवरले आसन्न अधिवेशनमा छुट्टै प्यानलका रूपमा चुनाव लड्नेबारे छलफल भइरहेको बताए । पत्रकारहरूको जिज्ञासामा संस्थापन इतर पक्षका नेताहरूले यो विचार समूह केन्द्रीय नेता डाक्टर शेखर कोइरालाको भावनात्मक नेतृत्वमा अझ सशक्त ढङ्गले अघि बढिरहेको बताए ।