धनगढी उपमहानगरको सुविधा सम्पन्न आइसोलेसन, महिला र पुरुषका लागि अलग्गै भवन (भिडियो सहित) 
2020/06/19, 8:48
 
corona

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि धनगढी उपमहानगरपालिका आइसोलेसन कक्ष निर्माणमा जुटेको छ । संक्रमितको संख्या बढ्दा राख्ने ठाउँको अभाव हुन थालेपछि २८ शैय्याको आइसोलेसन निर्माण भइरहेको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका– १५ मा जडीबुटी प्रशोसन केन्द्रका लागि निर्मित भवनमा आइसोलेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बिरामीको संख्याअनुसार आइसोलेसन कक्षहरू थपिँदै जाने नगर प्रमुख वडले बताए । कोरोना रोगको उपचार विशेष अस्पताल तोकिएको सेती प्रादेशिक अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार कोरोनाको लक्षण नदेखिएका संक्रमितलाई भर्ना लिने गरेको छैन ।

कोरोनाको संक्रमणको लक्षण नदेखिएका उपमहानगरभित्रका संक्रमितलाई आइसोलेसनमा राखिने उपमहानगरले जनाएको छ । ‘सेती प्रादेशिक अस्पताल मातहत रहने गरी प्रदेश सरकारले ५० शैय्याको छुट्टै आइसोलेसन निर्माण गरे पनि संक्रमितहरूको संख्या बढेकाले आइसोलेसनमा राख्नुपर्ने बिरामीले पनि ठाउँ पाएका छैनन्,’ नगरप्रमुख वडले भने, ‘सबै स्थानीय तहले आफैँ आइसोलेसन कक्ष बनाउन सकेमा त्यहाँको चाप घट्न सक्छ ।’

उपमहानगरपालिकाले तयार गर्न लागेको आईसोलेसनमा महिला र पुरुषका लागि अलग अलग भवन निर्माण गरिएको उपमेयर सुशिला मिश्रले जानकारी दिईन् । शैय्याहरू मिलाउने, बिजुलीबत्ती र स्वास्थ्य उपकरणहरू जडान गर्ने काम भइरहेको उनले जानकारी दिए । उपमहानगरको कोभिड उपसमितिका संयोजक नारायण बरालले एक–दुई दिनममै सञ्चालनमा ल्याउन सक्ने गरी आइसोलेसन कक्षहरू निर्माणको काम भईरहेको बताए ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय ३५ पुगेको छ । संक्रमितमध्ये सबैभन्दा बढी कैलालीका हुन् ।