फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने प्रक्रिया सुरुः मन्त्री गहतराज 
2022/02/25, 2:00
 
da

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने प्रक्रिया सुरु भएको बताएका छन् । शुक्रबार धनगढीमा नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभा उदघाटन गर्ने क्रममा बोल्दै मन्त्री गहतराजले सरकारले सुरु गरिसकेको जानकारी गराउँदै मन्त्री गहतराजले त्यो देशको सबभन्दा ठूलो खेलकुद पूर्वाधार हुने ठोकुवा गरे । 

‘पूर्वाधार राम्रो भयो भने हामी थुप्रै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरु नेपाल ल्याउन सक्छौं । तर हाम्रा पूर्वाधार असाध्यै पुरानो अवस्थामा छन् । दया लाग्ने अवस्थामा छन्,’ उनको भनाई थियो, ‘हामी पहिलो पटक देशको सबभन्दा ठूलो पूर्वाधार निर्माणको अभियानमा छौं । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय पालिकाहरुको साथै जनस्तरको समेत साझेदारीमा यो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने भनेका छौं ।’ 

उनले ‘राजनीतिमा पोलिटिक्स घुसेपछि’ अपेक्षित प्रगति गर्न नसकेको बताएका छन् । शुक्रबार धनगढीमा नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभा उदघाटन गर्ने क्रममा बोल्दै मन्त्री गहतराजले राजनीतिका कारण खेल क्षेत्र पनि विभाजित भएको र अगाडि बढ्न मुस्किल परेको स्वीकारे । 

‘राजनीतिमा पोलिटिक्स घुसेपछि यसले अपेक्षित प्रगति गर्न सक्दो रहेनछ । खेल क्षेत्र पनि धेरै विभाजित भयो । खेलाडीलाई नै राजनीतिक आँखाले हेर्ने स्थिती पैदा भयो भने कसरी खेलमा विकास गर्न सक्छौं,’ मन्त्री गहतराजले भने, ‘ठूलो चुनौती छ । यसअर्थमा हेर्दा हामीले यसलाई कसरी कोर्स करेक्सन गर्ने ?’ मन्त्री गहतराजले खेलाडी उत्पादनको क्रम चलिरहेका कारण खेल क्षेत्रमा आशा गर्ने वातावरण कायम रहे पनि खेलाडीलाई खेलमामात्र समर्पित भएर लाग्ने अवस्था सिर्जना मुख्य चुनौतीको विषय भएको विचार राखे । 

‘हाम्रा सबै संघहरु र खेलको जिम्मा लिएका आधिकारिक संस्थाहरु, खासगरी युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र संघहरुको ध्यान खेलाडी र खेलको विकास गर्नेमा जानु आवस्यक छ,’ आफूले खेलाडीको मनोबल, खेलको व्यवस्थापन र भौतिक पूर्वाधार विकासको पक्षलाई जोड दिएको बताउँदै मन्त्री गहतराजले थपे ।

‘खेलाडीको मनोबल कसरी उठाउने र भएको मनोबल कसरी बरकरार राख्ने भन्नेमा हामीले ध्यान दिनु जरुरी छ । हामी कसैको अगाडि झुकेका हैनौं, संसारमा कतै झुकेका छैनौं । गोर्खाली भनेपछि संसार तर्सिने थियो, त्यही भएर हाम्रा पूर्खाले हाम्रो भूभाग जोगाउन सफल भएका हुन्,’ मन्त्री गहतराजले भने, ‘त्यो मनोबललाई खेलमा कसरी परिणत गर्ने भन्ने हाम्रो मुख्य चुनौती हो । किनकी खेल खेलकै नियमअनुसार हुन्छ र त्यसमा मनोबल सबभन्दा ठूलो कुरा हो ।’

राज्यले खेलकुदलाई अत्यन्तै कम प्राथमिकतामा राखेको स्वीकार्दै मन्त्री गहतराजले त्यही कारण खेल व्यवस्थापन कठिन बनेको बताए । खेल क्षेत्रका लागि मन्त्रालयले ०.१६ प्रतिसत मात्र बजेट पाएकोमा गुनासो पोख्दै उनले खेलकुदलाई राज्यको तर्फबाट अनुत्पादक क्षेत्रको रुपमा व्यवहार भइरहेको अनुभव सुनाए । 

‘आज राज्यको एउटा मन्त्रीको हैसियतले असाध्यै पीडाका साथ भन्न चाहन्छु, राज्यले साच्चै खेललाई राष्ट्रको गौरव बढाउने क्षेत्र हो, अर्थतन्त्रलाई टेवा दिने क्षेत्र हो भनेर मानेको अवस्था छैन । यो बालुवामा पानी हालेजस्तो अनुत्पादक क्षेत्र हो भन्ने बुझाई राज्य र आर्थिक परिचालन गर्ने क्षेत्रमा देखा परेको छ,’ उनले भने ।