राष्ट्रसेवक प्रेमराजः हरेक निर्वाचनको अग्रपंक्तिमा, भए देशकै उत्कृष्ट
2022/02/26, 1:40
 
dd

सरकारले स्थानीय तह निर्वाचन वैशाख ३० गते गर्ने घोषणा गरेको छ । सबै क्षेत्रमा निर्वाचनको माहोल तात्दै गएको छ । नागरिकहरू आफ्नो नेतृत्व छान्ने दिनको व्यग्र पर्खाइमा छन् । अर्कोतिर व्यवस्थापकीय एवं निर्वाचनको तयारीको चटारो निर्वाचन आयोग तथा निर्वाचन कार्यालयलाई छ ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टलाई निर्वाचनको व्यवस्थापकीय तयारीकै बढी भार छ । आफ्नो नियमित कार्य भन्दै उनी र मातहतको टीम निर्वाचन आयोगको निर्देशनलाई पछ्याउँदै कस्सिएर तयारीमा होमिएको छ ।

उनले लोकान्तरसँग भने, ‘मेरो कामको सीमा र समय हुँदैन । कहिल्यै कुनै दिन फुर्सदमा छैन । बिहान ७ बजे कार्यालय आउँछु, साँझ ७ बजे घर जान्छु । कुनै बेला अबेर रातिसम्म काम गर्नुपर्छ । आफ्नै काम हो, जिम्मेवारी हो ।’

कुराकानीकै क्रममा भट्टले दर्जनौं स्थानीय तह प्रमुखलाई फागुन १९ गते वडा कार्यालयमा मतदाता नामावली प्रकाशनको सूचना टाँसिने सूचना दिन भ्याए । कतिबेला आयोगबाट आउँदै गरेको पलपलको निर्देशनलाई ग्रहण गरिरहेका थिए । मातहतका निकाय तथा कर्मचारीलाई आवश्यक निर्देशन पनि दिन भ्याइरहेका थिए ।

निकै फुर्तिला, ऊर्जावान र स्पष्ट वक्ता समेत रहेका भट्टको कार्यसम्पादन शैली निकै पृथक छ । उनी निकै सहजताका साथ आसन्न निर्वाचन सम्पन्न गर्ने पूर्ण मनस्थितिमा छन् । उनको यस्तै कार्यदक्षताले निर्वाचन आयोगले उनलाई फागुन ७ गते छैटौं निर्वाचन दिवसको अवसरमा देशकै उत्कृष्ट कर्मचारी पुरस्कारबाट नगदसहित पुरस्कृत गरेको छ ।  तर उनका लागि उत्कृष्ट कर्मचारी पुरस्कार पहिलो भने होइन, उनले यसअघि राष्ट्रिय पुरस्कार तथा पदकहरू पाइसकेका छन् ।

१८ वर्षदेखि निर्वाचनको अग्रमोर्चामा

डोटी जिल्लाको जोरायल गाउँपालिका–५ गडसेरा स्थायी घर भएका ४१ वर्षीय भट्टले जीवनमा निकै ठूलो संघर्ष र त्याग गरेका छन् । भट्टको परिवारमा उनीसहित ३ दाजुभाइ, १ दिदी र १ बहिनी छन् । सानै उमेरमा बुवा गुमाएका भट्ट बुवा मदनराज भट्टकै प्रेरणाले निजामती सेवामा प्रवेश गरेको बताउँछन् । उनका बुवा खरिदार पदमा रहँदा दिवंगत भएका थिए ।

प्रेमराज भट्टले २०६० वैशाख १२ गतेदेखि जागिरे जीवन शुरूआत गरेका हुन् । त्योभन्दा पहिले उनी तत्कालीन जिल्ला विकास समिति कैलालीमा यूएनडीपी अन्तर्गतको कार्यक्रममा नायब सुब्बा सरहको अफिस एसिस्टेन्ट पदमा २०५७–२०५९ सालसम्म कार्यरत थिए । त्यसपछि आईएलओ कार्यक्रममा कार्यरत थिए । 

२०६० सालमा उनले लोकसेवा आयोगको परीक्षामा नेपाल दूरसञ्चारमा खरिदार, निर्वाचन आयोगमा नायब सुब्बा र एक गैरसरकारी संस्थामा कार्यक्रम सहायक पदको लागि आवेदन दिएका थिए । पढाइमा अब्बल उनको नाम ३ वटै ठाउँमा सँगै निस्कियो । उनले निर्वाचन आयोग रोजेको बताए ।

शुरूमा उनको पदस्थापन जिल्ला निर्वाचन कार्यालय डोटीमा भयो । २ वर्ष डोटीमै रहे । त्यसपछि कैलालीमा सरुवा भयो ।  अछाम र कैलाली जिल्लाको बागडोर सम्माल्नुका साथै विभिन्न जिल्लामा विभिन्न भूमिकामा रही निर्वाचनसँग सम्बन्धित प्रशिक्षण समेत दिँदै आएका छन् उनी ।

उनले थपे, ‘२०६४ सालको निर्वाचनताका कैलालीमै थिएँ तर २०६५ सालमा भएको उपनिर्वाचनताका कञ्चनपुर सरुवा भयो । त्यहाँ धेरै समय नबसे पनि ‘इलेक्ट्रोनिक भोटिङ मशिन’ सञ्चालनार्थ खटाइएको थियो ।’ 

२०६५ सालको उपनिर्वाचनमा आयोगले उपनिर्वाचन हुने स्थानमा विद्युतीय मतदान यन्त्रले मतदान गराउने नीति लिएको थियो । त्यही नीति अन्तर्गत आयोगले प्रशिक्षकका रूपमा तालिम दिएको र प्रशिक्षकको रूपमा खटिएको उनी बताउँछन् । निर्वाचन सकिएपछि उनी २०६६ सालमा पुनः कैलाली फर्किए ।  २०६६ सालमा निर्वाचन आयोगले फोटो सहितको नामावली संकलन गरेको थियो । त्यसको ‘मास्टर ट्रेनर’का रूपमा भट्ट पनि छनोट भएका थिए ।

उनले भने, ‘हामीलाई २७ दिनको तालिम दिइयो । विशेषगरी फोटो सहितको मतदाता नामावली कार्यान्वयन गर्नलाई महत्त्वपूर्ण जिम्मेवारी दिइएको थियो । त्यसलाई हामी ‘बायो मेट्रिक बेस्ट भोटर रेजिस्ट्रेसन सिस्टम’ भन्छौं । जुन अहिले हजुरहरूले मतदाता परिचयपत्र प्रयोग गरिरहनुभएको छ । त्यसको सफ्टवेयर विकासदेखि कार्यान्वयनसम्म मसहित देशभरबाट ७ जना छानिएका थियौं ।’ 

फोटो सहितको मतदाता नामावली संकलन ‘पाइलट प्रोजेक्ट’को रूपमा सुदूरपश्चिममा सर्वप्रथम डडेल्धुराको साविक जोगबुढा गाविसमा गरियो । १९ दिन त्यही बसेर काम गरेको बताउँदै उनले त्यसपछि मात्रै गाउँगाउँमा लागू गरिएको र ‘प्रोजेक्ट’ नै सफल भएको खुशी व्यक्त गरे । 

देशकै उत्कृष्ट कर्मचारी

फलतः उनी २०६७ सालमा निजामती सेवा पुरस्कारबाट सम्मानित भए । सो पुरस्कारबाट भट्टसहित देशभरबाट ३० जना पुरस्कृत भएका थिए । २०६८ सालमा गणतन्त्र दिवसको अवसरमा उनलाई राष्ट्रपतिद्वारा जनसेवा श्री पञ्चम् पदक प्रदान गरियो ।

हालै उनलाई निर्वाचन आयोगले देशकै उत्कृष्ट कर्मचारीको रूपमा पनि सम्मानित गरेको छ । आयोगले उनलाई फागुन ७ गते छैंटौं निर्वाचन दिवस २०७८ को अवसरमा देशकै उत्कृष्ट कर्मचारी पुरस्कारबाट नगदसहित पुरस्कृत गरेको छ । देशभरमा ७०० जना कर्मचारीमध्ये ७ जना छनोटमा परेका थिए ।

छनोटबारे उल्लेख गर्दै भट्टले भने, ‘वर्षभरिको कार्यसम्पादन तथा कार्यालयको लेआउट, आयोगले हामीलाई पत्राचार गर्छ, पत्राचार गरेको विवरण हामी कति समयमा उपलब्ध गराउँछौं । त्यो पनि मूल्यांकनको आधार हो । वार्षिक रूपमा आयोगले कार्यक्रम दिन्छ, त्यो वार्षिक कार्यक्रम हामीले कतिसम्ममा सम्पादन गर्‍यौं रु त्यो पनि मूल्यांकनको आधार हो । नागरिकसँगको सम्बन्ध कस्तो छ रु मेरो व्यावसायिक दक्षता कस्तो छ रु यी विभिन्न सूचकका आधारमा आयोगले मूल्यांकन गर्‍यो र मलाई उत्कृष्ट कर्मचारीको रूपमा पुरस्कृत गर्‍यो । म निकै आभारी छु ।’

२०७४ सालमा निर्वाचन अधिकारीको रूपमा बढुवा भएका उनले आम नागरिकसँगको सहज पहुँचमा रहन रुचाउने राष्ट्रसेवकको छवि बनाइसकेका छन् ।  ‘पहिलो दिन नियुक्ति लिँदाखेरी नागरिकको हितलाई सर्वोपरि राखेर काम गर्नुपर्छ भन्ने अनुभूति गरेको थिएँ । आज पनि त्यही कुरालाई स्मरण गरेर काम गरिरहेको छु । फलतः सबैको आशिर्वाद र माया पाउँदै आएको छु,’ उनले भने ।

राष्ट्र सेवक कर्मचारी व्यावसायिक हुन जरुरी रहेको औंल्याउँदै उनले आफ्नो कार्यक्षेत्रमा इमान्दार, जवाफदेही, जिम्मेवार, उत्तरदायी र लगनशील हुने हो भने कुनै ठाउँमा पनि काम गर्न असहज नहुने सुझाव दिए ।  उनी १८ वर्षको जागिर अवधिमा २०६४, २०६५, २०७०, २०७१ सालको उपनिर्वाचन, २०७४ सालको स्थानीय तह, २०७८ सालको राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रत्यक्ष तथा मुख्य भूमिकामा रहेर काम गरिसकेको बताउँछन् । 

पीएचडीको सपना

विपन्न परिवारका उनले गडसेरामा नै १० कक्षासम्मको अध्ययन पूरा गरे । उच्च शिक्षा अध्ययनका लागि उनी कैलाली आए । त्यसैबीच बुवाको देहान्त भएको उनी सम्झिन्छन् । पढाइमा अब्बल उनले शुरूमा डाक्टर बन्ने चाहना राखे तर आर्थिक अवस्थाले दिएन ।  उनले हालसम्म व्यवस्थापन, राजनीतिशास्त्र र समाजशास्त्र गरी ३ विषयमा स्नाकोत्तर उत्तीर्ण गरिसकेका छन् ।

आसन्न निर्वाचनलगत्तै निर्वाचनकै विषयमा विद्यावारिधि गर्ने लक्ष्य बनाएका छन् उनले । अर्कोतिर सहसचिवको तयारीमा जुटेका छन् । अब उनी स्थानीय तहमा आफ्नो कार्यक्षमता प्रदर्शन गर्ने योजना बुन्न थालेका छन् । 

भट्टले भने, ‘सेवा अवधि धेरै बाँकी छ । अब मलाई निर्वाचन आयोगका साथै विकासे क्षेत्रमा काम गर्ने इच्छा छ । मोडल भिलेज, गेम चेन्जर प्रोजेक्टमा काम गर्ने सोच छ । ताकि केही गर्न सकुँ । देशमा संघीयता आउनुको कारण विकेन्द्रिकृत विकासका लागि हो । जबसम्म ग्रामीण क्षेत्रको विकास हुँदैन, तबसम्म देशको विकास हुँदैन ।’ लोकान्तरबाट