नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको पदाधिकारी टुंग्याउन अन्ततः चुनाव हुने भएको छ । प्रदेश सम्मेलन उद्घाटन भएको झण्डै ३ महिना हुनै लाग्दा समेत पदाधिकारी टुंगो लाग्न सकेको थिएन ।
सम्मेलन मंसिर २५ र २६ गते तोकेको थियो । तर, पदाधिकारीमा टुंगो लाग्न नसक्दा चुनावी प्रक्रियामा गएको हो । प्रदेश समिति सदस्य समेत रहेका कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीका अनुसार फागुन १४ गतेदेखि जारी प्रदेश समिति बैठकबाट पदाधिकारी छनोट गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
तालिकाअनुसार फागुन १५ गते मतदाता नामावली प्रकाशन गरिएको छ । फागुन १६ गते उम्मेदवारी दर्तासहित मतदान हुने बताइएको छ । गत मंसिरमा अध्यक्ष पदका आकांक्षीहरू धेरै देखिएको र सहमति हुन नसक्दा सम्मेलनले २२३ जना सदस्य मात्रै छनोट गरेको थियो । २२३ सदस्यीय प्रदेश समितिमा १ जना अध्यक्ष, ३ जना उपाध्यक्ष, १ जना सचिव, ३ जना सहसचिव र १ जना कोषाध्यक्ष गरी ९ जना पदाधिकारी छनोट गर्नुपर्ने व्यवस्था रहेको छ ।
हाल अध्यक्ष पदका लागि राष्ट्रियसभा सदस्य हरिराम चौधरी ‘उत्सव’ ९कैलाली० र सुदूरपश्चिम सरकारका पर्यटन मन्त्री समेत रहेका मानबहादुर धामी आकांक्षी देखिएका छन् । चौधरी र धामीबीच सहमति हुन नसक्दा मतदान हुन लागेको निवर्तमान प्रदेश अध्यक्ष शरदसिंह भण्डारीले बताए ।