‘गठबन्धनसंग चुनाव लड्न एमाले तयार छ’
2022/02/28, 1:01
 
aa

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम आइतबारदेखि सुरु भएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरिएको हो ।

एमालेको केन्द्रीय स्कुल विभाग, स्थानीय तह विभाग र निर्वाचन विभागको संयुक्त आयोजना तथा सुदूरपश्चिम प्रदेश कमिटीको व्यवस्थापनमा धनगढीको शुुभश्री प्यालेसमा शुरु भएको प्रशिक्षण तथा अभिमुुखिकरण कार्यक्रमको सो पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डेयले उद्घाटन गरे। सो क्रममा उपाध्यक्ष पाण्डेयले सत्तारुढ गठबन्धनसँग एमाले एक्लै चुनाव लड्न तयार रहेको बताए । आगामी निर्वाचनमा एमाले सबैभन्दा ठूलो दल बन्ने दावी गर्दै उनले त्यसका लागि जनतामा जान निर्देशन दिए ।

सोमबारसम्म चल्ने अभिमुुखिकरण कार्यक्रममा स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्य, जिल्ला कमिटीका पदाधिकारी समेत गरेर साढे पाँच सय जनाको सहभागिता रहेको छ । एमालेका केन्द्रीय उपाध्यक्ष पाण्डेय, उपमहा सचिव प्रदीप ज्ञवाली, सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट लगायतका नेताहरुले प्रशिक्षण एमालेले जनाएको छ । यसैबीच, नेपाल निजामति कर्मचारी संगठन, अछामको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । संगठनको ११ औं जिल्ला अधिवेशनबाट मंगलसेन नगरपालिकामा नायब सुब्बामा कार्यरत विष्णुप्रसाद जैसीको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा हिमाल खड्का र तुलसी साउँद, सचिव झनकराज अधिकारी, सहसचिव दुर्गाप्रसाद जैसी, कोषाध्यक्ष हिक्मतबहादुर नेपाली चयन भएका छन् । समितिको सदस्यमा ध्रुव बोहरा, कृष्णप्रसाद जैसी, नृपबहादुर बुढा, दीपक खड्का, विष्णुप्रसाद भण्डारी, चक्रबहादुर वयक, खन्टी रिमाल ढुङ्गाना, मिना रावल भण्डारी, सिर्जना कठायत, भगिसरा थापा सोडारी, दिलमाया थापा, हिक्मतबहादुर धामी रहेका छन् ।  यस्तै, सोही अधिवेशनका क्रममा जगतबहादुर रावलको अध्यक्षतामा सात सदस्यीय राष्ट्रसेवक बचत तथा ऋण सहकारी समेत गठन गरिएको छ ।