काङ्ग्रेस कैलालीको सभापति चयनका लागि १८ गते फेरि निर्वाचन हुने
2022/02/28, 10:20
 
dd

नेपाली काङ्ग्रेस कैलालीको सभापति चयनका लागि पुनः निर्वाचन हुने भएको छ ।

१४ औँ अधिवेशन अन्तर्गत भएको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा चुनाव धकेलिएको हो ।

निर्वाचनमा जम्मा दुई हजार ४८५ मत खसेको थियो । जस अनुसार सभापतिका उम्मेदवारले सो पद्मा विजयी हाँसिल गर्नका लागि कम्तीमा पनि एक हजार २४३ मत ल्याउनु पर्ने थियो ।

तर, तीनै जनाले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सकेनन् । अन्तिम मत परिणाम अनुसार सभापतिका उम्मेदवार प्रकाश बमले एक हजार १६९,नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गरेका छन् । 

अब सभापतिका लागि बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ । दुवै जना संस्थापन पक्षका हुन । सबैभन्दा कम मत ल्याएका संस्थापन इतर पक्षका कलेल सभापति पदको होडबाट बाहिरिएका छन् ।

निर्वाचन अधिकृत टेक प्रसाद सुवेदीका अनुसार  पहिलो चरणमै सभापति निर्वाचित हुन नसके पछि यही फागुन १८ गते दोस्रो चरणमा निर्वाचन गर्ने बताए । सुदूरपश्चिम प्रदेशमा काँग्रेसको जिल्ला अधिवेशन कैलाली र अछाम बाहेक बाँकी सबै जिल्लामा यस अघि नै सम्पन्न भइसकेको छ ।