भोलिदेखि नेपाली साहित्य महोत्सव सुरु हुने
2022/03/02, 1:14
 
dd

धनगढीमा भोलि फागुन १९ गतेदेखि हुने नेपाली साहित्य महोत्सव २०७८ तयारी अन्तिम चरणमा पुगेको छ । आज आयोजक  सुदूरपश्चिमाञ्चल साहित्य समाजले पत्रकार सम्मेलन गर्दै सो बारे जानकारी दिएको हो ।

साहित्य महोत्सव  भोलि फागुन १९ देखि २१ गते सञ्चालन हुने छ । महोत्सवको उद्घाटन प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्ने कार्यक्रम तय भएको सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिए ।

यस अघि २०७६ सालमा प्रथम विश्व नेपाली साहित्य महोत्सव सम्पन्न भएको थियो । त्यस यता कोरोनाका कारणले दुई वर्ष महोत्सव हुन सकेको थिएन् ।

‘काली–कर्णाली क्षेत्रको गौरव गाथालाई आत्मसात् गर्दै भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि हामीले प्रत्येक वर्ष महोत्सवको आयोजना गर्दै आएका छौँ’ समाजका अध्यक्ष जोशीले भने, ‘गत वर्ष विश्वभरका नेपाली भाषी साहित्यकारको सहभागितामा राष्ट्रपतिले महोत्सवको उद्घाटन गर्नुभएको थियो । हामीले यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिन खोजेका हौँ । यस वर्ष प्रदेशका मुख्यमन्त्रीले साहित्य महोत्सवको उद्घाटन गर्नुहुनेछ ।’

यस कार्यक्रमले सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा,  दर्शन, उद्योग व्यापार र समग्र सामाजिक विकासमा टेवा पुग्ने उनले बताए ।

यस वर्ष कोरोनाका कारणले देश भन्दा बाहिरका  साहित्यकारहरू ल्याउन नसकेको र देशभित्रका कवि, लेखक, साहित्यकार, पत्रकार, कलाकार र बुद्धिजीवीलाई कार्यक्रममा आमन्त्रण गरिएको अध्यक्ष जोशीले बताए । प्रथम विश्व नेपाली साहित्य महोत्सव एक हप्ता सञ्चालन भए यस वर्ष भने कोभिडलाई मध्यनजर गर्दै तीन दिन सम्म मात्रै सञ्चालन हुने आयोजकले जनाएको छ ।