‘धनगढी मोडल’ स्थापित गर्न मेयरमा फेरि स्वतन्त्र उम्मेदवार बन्दैछु: गोपाल हमाल (अन्तर्वार्ता)
2022/03/03, 2:28
 
dd

स्वतन्त्र रुपमा अन्तिम पटक चुनाव लड्ने भन्दै गोपाल (गोपी) हमालले मंगलबार मात्रै विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेशको संयोजक पदबाट राजीनामा दिए। उनले सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढी उप–महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने एका छन्।  अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएका उनी २७९७ सय मतान्तरले कांग्रेसका नृप वडसँग पराजित भएका थिए। विजयी वडले १४ हजार ३२४ मत प्राप्त गर्दा हमालले ११ हजार ५२७ मत ल्याएर दोस्रो भएका थिए। 

१४ वर्ष उद्योग वाणिज्य महासंघको सदस्य रहिसकेका हमालले आफ्ना कार्यकाल (२०६३–६६)मा कैलाली उद्योग वाणिज्य संघलाई देशकै उत्कृष्ट शाखा बनाएका थिए। दिनेश ग्रुपका नामबाट सुदूरपश्चिममा सञ्चालित उनका व्यापार व्यवसायहरूमा ६ सय जना बढीले काम गरिरहेका छन्।सुदूरपश्चिमलाई सम्भावनाको क्षेत्रका रूपमा परिचित गराउन उनले थालेको सुन्दर सुदूरपश्चिम अभियानले निकै चर्चा बटुलेको थियो। 

बिहीबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हमालसँग गरेको कुराकानीः 

पार्टीको साधारण सदस्यबाटै राजीनामा दिएर स्वतन्त्रबाट चुनाव लड्ने निर्णय किन लिनुभयो?
मैले योपटक अन्तिम चोटि चुनाव लड्छु भनेको थिएँ। ६ महिनादेखि म आन्तरिक रुपमा मत सर्वेक्षणमा थिएँ। विगतदेखि नै मैले राजनीतिकभन्दा पनि सामाजिक कार्यकर्ताको रुपमा काम गर्दै आएको छु। अन्य पार्टीमा पनि मेरा त्यत्तिकै शुभचिन्तक छन्। उनीहरुले एउटा पार्टीमा लागेको मान्छेलाई भोट दिनुभन्दा पनि स्वतन्त्र रुपमा भोट दिन सजिलो हुन्छ भन्दै स्वतन्त्र लड्न सल्लाह दिए। साथीहरुले दिएको सुझाव मलाई मन पनि पर्यो। हाम्रै पार्टीका साथीहरुले पनि त्यही भन्न थाले। 

अध्यक्ष रवीन्द्र मिश्रसँग पनि कुरा गरेर मैले यो निर्णय लिएको हुँ। पार्टीको क्षेत्रीय भेला पनि बोलाएर गोपी हमाललाई स्वतन्त्र सदस्यमा उठ्नका लागि साधारण सदस्य पनि नरहने गरी सहयोग गर्ने भन्ने निर्णय भएपछि मैले राजीनामा दिएको हुँ।  कतिपयले रवीन्द्र मिश्रसँग कुरा नमिलेर राजीनामा दिएको पनि भन्छन्। तर मैले रवीन्द्रजीसँग कुनै किसिमको गुनासो भएर छोडेकै होइन। मलाई अधिकतम तथा अधिकतम मान्छेले स्वतन्त्र भएर लड भनेको हुनाले यो निर्णय लिएको हो। 

अरु पार्टीकाले सहयोग गर्दा तपाईंले जित्ने सम्भावना छ ?
अघिल्लो स्थानीय निर्वाचनमा म जम्मा २७ सय मतले हारेको थिएँ। त्यसबेला दुईतीन हजार मात्रै भोट आएको भए मेरो राजनीतिक यात्रा यहीँ टुंगिन्थ्यो। दोस्रो ठूलो मत पाएको हिसाबले पनि यो मतलाई कदर गरौँ भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेको हुँ। 

त्यसबेला बदर मतका कारण म हार्न पुगेको थिएँ। मलाई मकैको बोट चुनाव चिन्ह दिइएको थियो। अरु चुनाव चिन्हमा मकैको घोगा, तोरीको बोट पनि राखिएको थियो। ठ्याक्कै हेर्दा उस्तै देखिने भएकाले मतदाता शिक्षा नभएकाले धेरै मत बदर पनि भए। धनगढीमा उपनगरपालिका बनाउनका लागि उर्मा, फूलबारी र बेली गाउँपालिकामा थपियो। त्यो थपिएको नयाँ ठाउँ भयो त्यहाँ प्रचारप्रसार पनि पुगेन। त्यसबेला मैले चुनाव चिन्ह ६ गते पाएँ, ११ गते प्रचारप्रसार बन्द भयो। चुनाव चिन्हको समय छोटो भएकाले पनि हामीले प्रचारप्रसार गर्न थोरै समय पायौं। 

त्यसबेला म कहिल्यै राजनीति नगरेको मान्छे एकैपटक उम्मेदवार भएर आउँदा पब्लिकमा अप्रत्यासित भयो। राजनीतिमा स्वतन्त्र उम्मेदवार भएपछि भोट नै पाउँदैन भन्ने माइन्डसेट हुँदो रहेछ। त्यसले गर्दा पनि मत खेर किन फाल्ने, जित्दैन भन्ने मानसिकता थियो। 

यसपालि धनगढीबासीले प्रतिस्पर्धा कसकसका बीचमा हुन्छ भन्ने पनि बुझेका छन्। त्यसबेला पुग्न नसकेको ठाउँमा पनि यसपालि म पुगेको छु। उहाँहरुले पनि मलाई बुझ्नु चिन्नुभएको छ। त्यहाँ राजनीतिबारे सचेत नागरिकहरु बस्नुहुन्छ। त्यही भएर मैले स्वतन्त्र उम्मेदवारी दिँदा उहाँहरुलाई पनि सहज हुन्छ भन्ने मेरो अनुमान छ। 

 

अन्तिम पटक चुनावमा लड्छु भन्नुभएको छ किन ?
बाह्रै महिना राजनीति गर्ने भनेको यसैलाई पेसा बनाउनलाई हो। हाम्रो देशमा विकास नहुनुको एउटा कारण यो पनि हो। हामीले राजनीतिलाई सेवा बनाएनौँ, पेसा बनायौँ। मैले मेयर जितेँ भने सेवा सुविधा केही पनि लिन्नँ। सवारी पनि नगरपालिकाको चढ्दिनँ भनेको छु। म पूर्ण रुपमा आफ्नो खुट्टामा उभिएको मान्छे हुँ। मलाई जे दिएको हो, यही धनगढीले दिएको त हो। अब मैले पाँच वर्ष यो धनगढीलाई निस्वार्थ सेवा दिन्छु। 

मैलै स्वतन्त्र उम्मेदवारी दिँदा कार्यकर्ता पाल्नुपर्दैन। अहिले कुनै पनि दलको उदेश्य भनेको सत्तामा पुग्ने र भएको साधनस्रोतले पहिले आफ्नो गुट बलियो बनाउने र त्यसपछि पार्टी बलियो बनाउने हुन्छ। अहिले जति हाम्रा त्यति राम्रा भन्ने छ। म गएपछि ठ्याक्कै उल्टो गर्छु। जति राम्रा त्यति हाम्रा हुन्छन्। 

म यसलाई ‘धनगढी मोडल’ भन्छु। यो भनेको हरेक नेपालीले सुरुमा आफू स्थापित हुन लाग्ने हो। परिवारका लागि केही गर्ने हो। आफ्नो छोराछोरीका लागि संघर्ष गर्ने र स्थापित हुने हो। स्थापित भइसकेपछिको पाँचवर्ष स्वयंसेवकका रुपमा देश, समाजका लागि निस्वार्थ रुपमा सेवा गर्ने नीति अपनाउनुपर्छ। यो मैले सफल पारेर देखाएँ भने नेपालको राजनीतिमा एउटा धनगढी मोडलको अनुशरण हुनेछ।  

तपाईंका एजेन्डाहरु के के हुनेछन् ?
अहिले मैले भर्खरै पार्टीबाट राजीनामा दिएको छु। स्वतन्त्र उम्मेदवारीको घोषणा कार्यक्रम पनि गर्न बाँकी भएकाले म प्रारम्भिक चरणमै छु। एजेन्डाहरुबारे म योजना बुन्दैछु। प्राथमिकताहरु छुट्याउँदैछु। केहीदिनमा घोषणापत्रमार्फत सबै एजेन्डाहरु सार्वजनिक गर्नेछौँ। 

तपाईंको जुन लोकप्रियता थियो, पार्टीमा लागेपछि त्यो खस्किएको आकलन पनि छ नि ?
लोकप्रियतामा किन कमी होला र? यसबीचमा त झन् मैले आफ्नो सक्रियता बढाएको छु। यो पाँच वर्षमा जनतालाई आवश्यक पर्दा मैले सहयोग गरेको छु। हामीले ‘महाप्रस्थान यान’को सुरुवात गर्दै निशुल्क रुपमा शववहान प्रदान गर्दै आएका छौँ। कपडा बैंकको स्थापना गर्दै गरिबहरुलाई सहयोग गरेका छौँ। कोभिडका लागि अक्सिजन कन्सन्ट्रेटरहरु निर्माण गर्यौँ। पीडा हुँदा जोसुकै मान्छेलाई पनि निरन्तर सहयोग गर्दै आएकाले पार्टीमा लाग्दैमा मलाई रुचाउनेहरुको संख्यामा कम आएको मैले महसुस गरेको छैन। 

पार्टीमा संगठन निर्माण गर्नुभएको थियो, पार्टीबाटै लडेको भए अझै सजिलो हुन्थ्यो कि?
अन्य पार्टीका साथीहरुले कुनै पनि अन्य पार्टीका मान्छेलाई भोट हालेनौँ भनेर कसम खान पाऊँ भन्न थाले। मैले जितेँ भनेँ पो धनगढी मोडेल सफल पार्ने हो। म लामो समय राजनीति गर्ने भए पार्टीमा लागेर राजनीतिक करिअर बनाउँथेँ। म अन्तिम पटक चुनाव लड्न लागेको छु। मैले काम गरेर यसरी अघि बढ्नुपर्छ भन्ने बाटो देखाइदिने हो। पाँच वर्ष त्यसका लागि पर्याप्त हुन्छ। गुजारै राजनीतिबाट गर्ने हो भने मेरो ठाउँमा अरु कोही आए पनि देश परिवर्तन गर्न सकिँदैन। परिपाटी यही हुन्छ। त्यही कुरालाई तोड्न खोजेको हुँ। राजनीति पूर्ण रुपमा सेवा गर्ने ठाउँका रुपमा स्थापित गर्ने मेरो चाह हो। एक किसिमको यो शालिन क्रान्ति पनि हो। म सफल भएपछि देशभरिबाट म जस्ता सेवाभावका मान्छेहरु अगाडि आउँछन् भन्ने लागेको छ। 

जनताले फेरि तपाईंलाई पत्याएनन् भने नि ?
म हारौँ कि जितौँ, त्यसको मलाई चिन्ता छैन। मैले निस्वार्थ रुपमा आफ्नो ठाउँका लागि प्रयास गर्ने हो। म त्यो प्रयास गर्छु। म आफ्नो माटोको ऋण तिर्छु। मलाई यो ठाउँले बनायो, यही ठाउँले चिनायो भन्ने मेरो भावना हो। पब्लिकले पत्याएन भने त्यसलाई सहर्ष स्वीकार गर्छु। आफ्नो जे काम गरिरहेको छु, त्यही काम गर्छु।  जितेँ भने हामी मिलेर धनगढीको मुहार फेर्छौँ। म आइसकेपछि कसैलाई विभेद गर्दिनँ। म संयोजनकारी भूमिकामा हुन्छु। सहयोग सबैले गर्नुपर्छ। म सबैको सहयोग लिन्छु।  नेपाल खबरबाट