काँग्रेस कैलालीको पदाधिकारीमा मिश्रित परिणाम, यस्तो बन्यो भट्टको टिम
2022/03/04, 8:27
 
dd

नेपाली काँग्रेस कैलालीको पदाधिकारीमा मिश्रित परिणाम आएको छ । सभापतिमा निर्वाचित नारायणदत्त भट्ट र प्रतिस्पर्धी प्रकाशबहादुर बम दुवै प्यानलबाट पदाधिकारीमा निर्वाचित भएका छन् । उपसभापति, सचिव र सहसचिवको मतगणना शुक्रबार सम्पन्न भएको हो ।

उपसभापतिमा भीम बडुवाल १३२८ र खेम डगौरा थारु ९२३ मत ल्याएर विजयी भएका छन् । बडुवालले भट्ट नेतृत्वको प्यानलबाट र चौधरीले बमको प्यानलबाट उम्मेदवारी दिएका थिए । दुवै जनाले सभापतिमा उम्मेदवारी लड्ने घोषणा गरेका थिए तर टीममा सहमति भएपछि उनीहरु उपसभापतिमा लड्न राजी भएका थिए । 

यस्तै सचिवमा बम प्यानलका नृप सुनार १४९३ मत ल्याएर विजयी भएका छन् । सचिवमै भट्ट प्यानलका केशव मिश्र ११५६ मत ल्याएर विजयी भए । काँग्रेसमा दुई सचिव रहने प्रावधान छ । यस्तै सहसचिवमा कलेशुराम चौधरी ८९६ मत र रामसमझ राना ८८१ मत ल्याउदै विजयी भएका निर्वाचन समितिले जनाएको छ । कार्य समिति सदस्यको मतगणना बाँकी छ ।

बिहीबार भएको मतगणनामा जिल्ला सभापतिमा संस्थापन पक्षका नारायणदत्त भट्ट विजयी भएका थिए । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा निर्वाचित भएको थियो । पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका बम दोस्रो चरणमा पराजित भए ।

निर्वाचनमा संस्थापनका दुई र संस्थापन इतरको एउटा प्यानलबीच प्रतिस्पर्धा भएको थियो । पदाधिकारीमा संस्थापन इतर समूहबाट पनि विजयी भएनन् । सभापतिमा पहिलो चरणबाट बाहिरिएका शेखर कोइराला पक्षका उम्मेदवार रामबहादुर कलेलको प्यानलले दोस्रो चरणमा बमलाई सघाएको थियो । तर पार्टीको केन्द्रीय नेतृत्व भट्टको पक्षमा खुलेर लागेपछि मतपरिणाम उल्टिएको हो । पार्टी केन्द्रको निर्देशनअनुसार कैलालीबाट प्रतिनिधित्व गर्ने छ जना केन्द्रीय सदस्यलगायत नेताहरु भट्टको पक्षमा उभिएका थिए । निर्वाचनमा संस्थापन पक्षकै दुई खेमाबीच तीव्र धु्रवीकरण देखिएको थियो ।

सुदूरपश्चिमको प्रदेश राजधानी र प्रदेशमै सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला भएकाले पनि जिल्ला निर्वाचनमा केन्द्रले प्रत्यक्ष हस्तक्षप गरेको बताइएको छ । गत निर्वाचनमा नेतृ आरजु राणा कैलाली क्षेत्र नम्बर ५ बाट पराजित भएकी थिइन् ।

दुवै उम्मेदवार संस्थापन पक्षकै भए पनि निर्वाचनमा केन्द्रले डर, त्रास र प्रलोभन देखाएर भट्टको पक्षमा मतदाता प्रभावित गरिरहेको भन्दै बमको पक्षमा लागेका नेताहरुले सार्वजनिक रुपमै चर्को असन्तुष्टि व्यक्त गरेका थिए ।