सुदूरपश्चिमका ७४ लेखक र गजल मञ्चद्वारा साहित्य महोत्सव बहिष्कार
2022/03/04, 8:33
 
dd

कैलालीको धनगढीमा बिहीबारदेखि सुरू भएको ‘नेपाली साहित्य महोत्सव’ विवादित बनेको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा भइरहेको नेपाली साहित्य महोत्सव २०७८ विवादमा तानिएको हो।

७४ लेखकले सामूहिक रुपमा विज्ञप्ती जारी गर्दै महोत्सव बहिष्कार गरेका छन्। उनीहरुले साहित्य महोत्सव नाटक मन्चन मात्रै भएको बताउँदै महोत्सव नै बहिष्कार गरेको घोषणा गरेका हुन्। 

‘साहित्यको यस्तो कार्यक्रम भइरहदा सुदूरपश्चिमका साहित्यकार तथा लेखकलाई थाँहा समेत नदिइनुले हाम्रो ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रिय स्तरमा स्थापित हुँदै गरेका धेरै लेखक, कवि र गजलकारहरुलाई वाइपास गरेर कुनै सल्लाह, कुनै खबर बिना केही झुन्ड र आसेपासेलाई जम्म पारेर कार्यक्रम भइरहेको रहेछ।’

यस्तै अछाम गजल मञ्चले पनि महोत्सव बहिष्कार गरेको छ। मञ्चका अध्यक्ष जीवन सरोवरले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘सुदूरपश्चिमका स्थानीय तह र प्रदेश सरकारको आर्थिक सहयोगबाट आयोजना भएको साहित्य महोत्सवमा अछामका गजलकारलाई गरिएको उपेक्षाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यो साहित्य महोत्सवलाई सामूहिक रुपमा बहिष्कार गर्दछौं।’

सुदूरपश्चिमका विभिन्न स्थानीय तह र प्रदेश सरकारको सहयोगबाट सञ्चालन भइरहेको महोत्सवमा धनगढी र सुदूरपश्चिमबाहिरका श्रजकलाई मात्र स्थान दिएको भन्दै विरोध भइरहेको हो। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा भईरहेको उक्त महोत्सवका आयोजक समितिका संयोजक यज्ञराज उपाध्याय हुन्। हिजो एक कार्यक्रमका साथ उक्त महोत्सवको मुख्यमन्त्री त्रिलोचन भट्टले उद्द्घाट्न गरेका थिए।