बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष चन्दलाई एमालेले गर्‍यो कारबाही 
2022/03/08, 7:43
 
s

बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दलाई नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। 

२०७४ सालको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हित विपरीत काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।

नेपाल कम्यूनिष्ट पार्टी एमाले जिल्ला कमिटी बैतडीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै चन्दले पार्टीको हित विपरीत काम गरेको, स्पष्टीकरण सोध्दा समेत नदिएको, राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई भोट नदिएकोले चन्दमाथि कारबाही गरिएको जनाएको छ । 

यस्तै चन्दले पार्टीलाई बुझाउनुपर्ने लेबी समेत नबुझाएकोले पार्टी विधान अनुसार कारबाही गरेको एमालेले जनाएको छ ।

यही फागुन ३ गते बसेको जिल्ला कमिटीको बैठकले पनि लिखित स्पष्टीकरण सोध्दा समेत चन्दले बेवास्ता गरेकाले पार्टीबाट निष्कासन गरेको एमाले बैतडीका प्रचार विभाग प्रमुख लोक बहादुर भण्डारीले बताए ।एमालेबाट निर्वाचित उपाध्यक्ष चन्द काँग्रेसमा प्रवेश गर्ने चर्चा चलिरहेको छ ।