मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आज समापन हुदैंछ । समापन कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले रहो छन् । उनी कार्यक्रम समापनका लागि आज धनगढी आउँदै छन् ।
दिउँसो १२ बजेको फ्लाइटमा मन्त्री आले धनगढी आउने कार्यक्रम रहेको छ । फागुन १९ गतेदेखि सुरु भएको प्रतियोगिता आज समापन हुँदैछ । उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् ।
धनगढी रङ्गशालामा हुने फाइनल खेल दिउँसो ४ बजे हुनेछ । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।