नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेता डा. भीम रावललाई एमसीसीबारे गरेको टिका टिप्पणीबारे आक्रोश व्यक्त गरेका छन् ।
सोमबार नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित प्रशासनीक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले त्यस्तो टिप्पणी गरेका हुन् ।
आफ्नै दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला संसदमा पेस गर्दा चुप बसेको प्रति कटाक्ष गर्दै प्रधानमन्त्री देउवाले भने, ‘केपी ओलीले पेस गरेको प्रस्ताव पास हुँदा भीम रावलको टाउको किन दुख्यो ? रक्षामन्त्री भएर सरकारमा बस्दा एमसीसीबारे थाहा थियो कि थिएन ? एमसीसी खराब थियो भने त्यतिबेला मन्त्रीबाट राजीनामा किन नदिएको ? कि दिमाग फुस्किएको थियो ?’
त्यस्तै पहिले आफैँ मन्त्री भएर एमसीसीबारे सम्झौता गरेको र अहिले विरोध गरेको प्रति आक्रोश व्यक्त गर्दै अहिले त्यसको विरुद्ध नबोल्न समेत चेतावनी दिए । ‘हिजो सरकारमा बसेर मन्त्री भएर एमसीसी ल्याउने । अहिले आएर एमसीसीको खिलाफमा बोल्न लाज छैन ?’, प्रधानमन्त्री देउवाले भने ।