सुदूरपश्चिम प्रदेश सरकार परिवर्तनका लागि केन्द्रको निर्णय पर्खदै कांग्रेस नेता
2022/03/17, 7:29
 
ss

गत ३० फागुनमा कैलाली आएका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि चाडै नै आउने बताए । प्रचण्डको यस्तो भनाइ पछि सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिता भइ हाल्छ होला भन्ने धेरैको सोचाइ थियो ।

तर, कांग्रेसमा भने अझै पनि प्रदेश सरकारको मन्त्री परिषद्मा जाने वा नजाने भन्ने दुविधा छ । ‘पार्टीले अझै पनि कुनै निर्णय पठाएको छैन,’ नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले भने, ‘कसलाई मन्त्री बनाउने भन्ने पनि टुङ्गो छैन, हामी केन्द्रको प्रतिक्षामा छौं ।’ उनले कांग्रेस सरकारमा जाँदा मुख्यमन्त्री नै पाउनुपर्ने दाबी समेत गरेका छन् । सरकारमा समर्थन दिएर पनि अहिलेसम्म कुनै भाग नमागेका बताउँदै अब मन्त्री परिषद्मा जाने स्थिति बने मुख्यमन्त्री नै पाउनुपर्ने बताए । 

नेता रावल त्यसैका लागि काठमाडौं पुगेका छन् । काठमाडौंमा उनले कांग्रेस सभापति देउवा लगायतका नेतालाई भेट गरेको र सबैले आफ्ना मागलाई सकारात्मक रुपमा लिएको उनी बताउँछन् ।  यता नेकपा एकीकृत समाजवादी पार्टीले पनि मन्त्रीपरिषद् हेरफेर हुने अवस्था आएमा मुख्यमन्त्रीकै दाबी गरिरहेको छ । 

तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन नहुने प्रष्ट पारेका थिए । ‘मुख्यमन्त्री परिवर्तनको कुरा नेकपा एसका नेता माधवकुमार नेपालले गरेको हो,’ अध्यक्ष प्रचण्डले भने, ‘तर अहिलेको समीकरण अनुसार सत्तारुढ गठबन्धनका तीन दलले दुई/दुई वटा तथा जसपाले एउटा प्रदेशमा नेतृत्व गर्दै आएका छौं, सुदूरपश्चिमको नेतृत्व परिवर्तन हुने बितिक्कै सबै प्रदेशमा समीकरण फेरिने देखिएपछि हामी पछि हटेका छौं ।’ उनले गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्र पहिलो पार्टी भए पनि नेतृत्व नलिएको स्मरण गर्दै सुदूरपश्चिमको हकमा नेकपा एस ठुलो दल भए पनि सहमतिअनुसार जाँदा उसले नेतृत्व पाउन नसक्ने बताए । 

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले भने तत्काल मन्त्री परिषद्मा कांग्रेसको सहभागिता नभए प्रतिपक्षमा बस्ने र आगामी गठबन्धनको सबै सम्भवाना सकिने बताए । तर, उनले मुख्यमन्त्रीका लागि भने कांग्रेसले सुदूरपश्चिमममा भाग नमागेको स्पष्ट पारे । गठबन्धन दलको सहमतिअनुसार कांग्रेसले दुई प्रदेशको मुख्यमन्त्री पाइसकेको बताउँदै बलायरले सुदूरपश्चिममा नेतृत्व नचाहिएको तर मन्त्री भने चाहिने बताए ।

‘केन्द्रदेखि प्रदेशसम्म गठबन्धन गर्ने निर्णय भए पनि सुदूरपश्चिममा कांग्रेसले अहिलेसम्म केही पाएको छैन, सभापति बलायरले भने, ‘सरकारमा दुई दल मिलेको मनोमानी हुँदा कांग्रेस सरकारलाई समर्थन दिएर टुलुटुलु हेरेर बस्न सक्दैन । हामीलाई मन्त्री नदिए तत्काल समर्थन फिर्ता गर्नेछौं । हामी प्रतिपक्षमा जानेछौं र आगामी गठबन्धनको औचित्य पनि त्यही समाप्त हुने छ ।’ उनले सरकारमा जाने वा नजाने भन्ने विषय भने केन्द्रको भरमा रहेको बताए । ‘हाम्रो प्रष्ट धारणा हामीले केन्द्रलाई भनेका छौं,’ उनले भने कांग्रेसलाई आगामी दिनमा पनिसँगै लैजाने वा अलग/अलग जाने भन्ने टुङ्गो लगाउने जिम्मा केन्द्रीय नेतृत्वको भरमा छ ।’