को बन्ला नेपाल प्रहरीमा महानिरीक्षक ? यी हुन् सम्भावित अनुहार
2022/03/26, 2:12
 
aa

नेपाल प्रहरीमा रिक्त हुन लागेको महानिरीक्षकमा ज्येष्ठता विपरीत कनिष्ठलाई ल्याउन लबिङ तीव्र भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँड पछिल्लो समयमा बढुवा भएकालाई अवसर दिने योजनामा छन् । यस्तो भएमा एकै ब्याचीले अवसर पाउने भए पनि एआइजीमा पहिले बढुवा भएकाहरु रुष्ट बन्नेछन् ।

नेपाल प्रहरीमा तीनजना एआईजीको बढुवा सिफारिस भएसँगै प्रहरी महानिरीक्षकका लागि चार जना बीच प्रतिस्पर्धा छ । एआईजीहरू विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुकमध्ये एकजना प्रहरी प्रमुख बन्नेछन् । सिंह र धानुक गत मंगलबार मात्रै मन्त्रिपरिषदबाट एआईजीमा बढुवा भएको हुन् । पोखरेल ओली सरकारको पालामा एआईजी बढुवा भएका थिए ।

३० वर्षे सेवा अवधिका कारण महानिरीक्षक शैलेश थापा क्षेत्री एक महिनापछि अवकाश पाउँदै छन् । तर थापापछि प्रहरी नेतृत्व सम्हाल्न दौडधुप चलिसकेको छ । सेटिङ मिलाएर पहिले बढुवा भए पनि पोखरेलभन्दा उनकै ब्याचका अरुलाई आइजी बनाउन प्रधानमन्त्री र गृहमन्त्री चाहन्छन् । प्रहरी संगठनभित्र यस्तो राजनीति हावी छ कि प्रधानमन्त्री हेरेर महानिरीक्षक को बन्ला भनेर अडकलबाजी हुने गर्दछ ।

त्यसो त अहिले एआईजीका प्रमुख दाबेदार मानिएका विश्वराज पोखरेल पनि ज्येष्ठ होइनन् । पोखरेल पनि पूर्ववती सरकारको पालामा राजनीतिक सेटिङ मिलाएर एआइजी बनेका थिए । पोखरेलको बढुवा भएका बेला उनका ब्याचका अब्बल अनुहारहरुलाई अन्याय भएको थियो । सामान्यतया प्रधानमन्त्रीले रुचाएको व्यक्ति नै प्रहरीमा आईजीपी बन्दै आएका छन् । प्रधानमन्त्रीमा ओली हुन् वा देउवा । सबैको योजना प्रहरीलाई आफ्नो मुठ्ठीमा राख्ने देखिन्छ । राम्रालाई होइन हाम्रालाई रोज्ने प्रवृत्तिले संगठनलाई कमजोर बनाउँदै लगेको छ ।

प्रहरी संरचना देशभर फैलिएको छ । त्यहाँ आफ्नो प्रभाव राख्न सके राजनीतिक संगठन विस्तारमा सहज हुने सोचाइ दलहरुमा रहेको छ । सरकारले २०७९ सालभित्र तीनवटै तहको निर्वाचन गराउने प्रतिवद्धता जनाएको छ । निर्वाचनका लागि पनि आफू अनुकूलको महानिरीक्षकको खोजीमा देउवा सरकार पनि लागेको छ ।