प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका डा. नेता रणबहादुर रावलले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।आजको सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
प्रतिपक्षीसँग कुनै सहकार्य र समन्वय नगरी सरकार गैरजिम्मेवार तरिकाले चलेको उनको आरोप थियो । सरकारले विगतमा ल्याएको र बजेटसमेत विनियोजन गरेको जलविद्युत बोर्ड र लगानी बोर्ड स्थापना, सूचना प्रविधि पार्क स्थापना, खाद्य संस्थान र सुपथ मूल्य पसल सञ्चालनजस्ता योजना कार्यान्वयन गर्न नसकेको रावलले बताए ।
संघमा पाँच दलीय गठबन्धन रहे पनि प्रदेशमा आफूहरुलाई सरकारले उपेक्षा गरेको गुनासो पनि उनले गरे । ‘केन्द्रमा पाँच दलिय गठबन्धन हुने तर प्रदेशमा पूर्णतया दुई दलीय गठबन्धनको मनोमानी हुने र सरकार स्वेच्छाचारी रुपमा चल्ने गम्भीर आपत्तिको विषय छ ।’ उनले भने, विकास समितिलगायतमा मनपरी नियुक्ति गरिएको छ । सानो तिनो नियुक्तिमा पनि प्रतिपक्षलाई सोध्दैन ।’ आफूहरुले सहमति र सहकार्यमा जोड दिए पनि सरकारले अन्य दलसँग समन्वय नगरेको उनले बताए ।