नेपाली समाजमा छोरी खेलाडी हुनु कहाँ सजिलो छ र ! त्यो पनि सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला बझाङबाट। ‘ढुंगाको काप फोरर पनि उम्रन्छ पिपल, सिर्जना शक्ति कहिल्यै पनि हुँदैन विफल’ भनेर कविवर माधवप्रसाद घिमिरेले लेखेझैँ बझाङको दुर्गाथलीकी बासिन्दा अनु कडायत क्रिकेटमा एक प्रतिभा भएर उदाएकी छन्।
जिल्लाबाट पहिलो पटक सुदूरपश्चिमको यू–१९ को टिममा परेर अनुभवी खेलाडीसँग खेल्न पाउनुलाई अनुले जीवनको सबैभन्दा महत्वपूर्ण अवसर मानेकी छन्। यसअघि यू–१९ महिला क्रिकेट टिमका लागि बझाङबाट छनोट भएर प्रदेशको टोली कोही पनि परेका थिएनन्। धनगढीमा गत शुक्रबार सम्पन्न भएको यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा उनी सुदूरपश्चिमको टिमबाट सहभागी भएकी थिइन्।
यो प्रतियोगितामा अनु आफ्नो खेल प्रतिभा अरूलाई चिनाउन सफल भइन्।राष्ट्रियस्तरको खेलमा पहिलो पटक सहभागी भएकी अनुको क्षमताको अधिकांशले तारिफ गरे। प्रतियोगिताबाट यू–१९ महिला राष्ट्रिय टिम पनि छनौट गरिने हुँदा अनुका लागि उक्त अवसर स्वर्णीम हुन पुग्यो।
एक वर्षअघि अनुले गाउँमा प्रतियोगिता खेलेकी थिइन्। उनले ब्याट र बलसँग सम्बन्ध गाँसेको पनि एक वर्षमात्रै भयो। थोरै समयमा सिनियर दिदीहरूसँग खेल्न पाउँदा उनलाई सपना जस्तै लागेको छ। यो त उनको सुरुवात हो, अब ब्याट र बलसँग उनको सम्बन्ध कसिलो बन्ने क्रममा छ। दुर्गाथली गाउँपालिका–५, जाफ्रीकी बासिन्दा हुन् अनु। सात कक्षामा पढ्छिन्, १४ वर्षकी भइन्।
भौगोलिक विकटताका कारण उनको गाउँ दुर्गम र अविकसित छ। स्थानीय सरकार आएपछि जिप पुग्न सक्ने एउटा बाटो खनिएको छ। उनको गाउँमा दुःख छ, कमाइका लागि भारतको भर पर्नु पर्छ। विद्युत र स्वास्थ्य सेवामा सुधार छैन, गाउँका छोरीहरूको सानै उमेरमा बिहे हुन्छ। उनको ठाउँमा खेलाडी बन्ने सपना देख्नु सजिलो कहाँ छ र!’
अनुका दाजु सिजनअनुसार रोजगारीका लागि भारत जान्छन्। उनकै कमाइले घर चलेको छ। आमा र हजुरआमाको सामाजिक सुरक्षा भत्ताले पनि खर्च चलाउन केही सहज भएको छ। थोरै खेती, बाख्रा, गाईपालनले पनि उनको परिवारको गुजारा चलाउन सहयोग पुगेको छ। उनका बुबाको निधन भइसकेको छ। दाइको धेरै जिम्मेवारी छ। दाजुले क्रिक्रेटर बन्ने अनुको सपना पूरा गर्न सबै सहयोग गर्छु भनेका छन्।
अनुले गाउँका केही अग्रजहरूले क्रिकेट खेलेको देखेकी थिइन्। बल फाल्ने र त्यसलाई ब्याटले हिर्काउने तरिका उनी निकै गहिरो गरी नियाल्थिन्। गाउँमा क्लबहरूले कहिलेकाहीँ आयोजना गर्ने क्रिकेट प्रतियोगितामा गाउँका केटामान्छे मात्रै खेल्थे। केटामान्छेले खेलेको देख्दा उनलाई पनि खेल्न मन लाग्थ्यो तर गाउँमा त्यसरी खेल्न कहाँ पाउनु! अनुले क्रिकेटमा धेरै कुरा सिक्नुपर्दो रहेछ भन्ने पनि थाहा पाइन्।
एक वर्षअघि गाउँमा उनका लागि खुसीको खबर आयो। केटीहरूलाई पनि ४–४ ओभरको खेल खेलाउने भनेर क्रिकेट प्रतियोगिता भयो। ब्याट र बल समात्न नजान्नेहरू पनि रहरले प्रतियोगितामा सहभागी भए। त्यसमै अनुले पनि खेलिन्। ख्यालख्यालमै आयोजना भएको प्रतियोगितामा अनुको प्रतिभा उत्कृष्ट ठहरियो। अवसर पाए उनले निकै राम्रो खेल्न सक्ने देखियो। गाउँपालिकाले उनलाई क्रिकेट अभ्यास गर्न जिल्ला सदरमुकाम चैनपुर पठायो। उनीसँगै अरू दुई जनाले पनि अवसर पाए।
अनुले जिल्लाका खेलाडीसँग खेल्न र कोचसँग प्रशिक्षण लिन पाइन्। बझाङको क्रिकेट टिमसँग अभ्यास गर्न पाइन्। कोचले प्रशिक्षण गराए। फिल्डिङ, ब्याटिङ र बलिङबारे धेरै कुरा सिकिन्।
कोचको प्रशिक्षणमा एक महिना अभ्यास गरेर अनु गाउँ फर्किइन्। यसै वर्षको ‘प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता’ मा प्रदेशको टिममा छनोट हुन बझाङबाट उनीसहित १४ जना धनगढी आए तर कोही पनि टिममा परेनन्।छनोटमा नपरे पनि खेलाडीहरूसँग भेट भयो। अनुमा उत्साह बढ्यो। उनले क्रिकेटमा अघि बढ्ने अठोट गरिन्। खेल्न सजिलो होस् भनेर कपाल छोटो पारिन्।
कपाल छोटो पारेकोमा गाउँमा कसैले राम्रो मानेनन्। गाउँमा खिसी गरेर हाँसे, केटाजस्तो भएकी भने। उनले क्रिकेट खेल्न कपाल छोटो पारेको कुरा उनीहरूलाई के थाहा! घरमा भने अनुमति लिएकी थिइन्। यसपछि करिब तीन महिना क्रिकेट अभ्यास नगरी घरमै बित्यो। सदरमुकाममा मात्रै क्रिकेट खेल हुने भएकाले हिँडेर एक दिन लाग्ने चैनपुर आउजाउ गर्न सम्भव भएन। फाट्टफुट्ट जिप चल्ने भए पनि अनुकूल भएन। उनलाई चिन्ता लाग्न थालेको थियो।
यत्तिकैमा गत महिना जिल्लाबाट यू–१९ को राष्ट्रिय टिमको छनोटका लागि प्रदेश टिमका लागि छनौट खेल खेल्न खबर आयो। खुसीको सीमा रहेन। उनी समेत तीन जना छनोट खेल खेल्न दोस्रो पटक धनगढी आए। तीन जनामध्ये सुदूरपश्चिमको यू–१९ महिला टिममा अनु छनोट भइन्। उनीबाहेक अरू खेलाडीहरू अनुभवी थिए। टिममा उनीमात्र नयाँ थिइन्। मनमा डर र खुसी दुबै बोकेर प्रतियोगिता खेल्न उत्साहित थिइन्।
अनु मैदानमा उत्रिन तयार भइन्। यही चैत ६ गते धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना भएको यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको पहिलो दिन उनको टिमले कर्णाली प्रदेशसँग खेल्यो। त्यो खेलमा बलिङको ओपनर अनु नै थिइन्। उनले दुई विकेट लिइन्। त्यस दिन ब्याटिङ भने राम्रो चलेन, पहिलो ब्याटिङ उनलाई डर लाग्यो।
दोस्रो खेलमा उनले एक विकेट लिइन्। यस खेलमा उनको ब्याटिङ पनि ठिकै चल्यो, २७ रन बनाएर आउट भइन्। उनको खेल टिममा तारिफयोग्य भयो। तेस्रो खेलमा पनि अनुले दुई विकेट लिइन्। ब्याटिङ राम्रो चलेन, ९ रनमै आउट भइन्। तैपनि उनी खुसी भइन्। एक महिनामात्रै ब्याट र बल समात्न सिकेकी अनुले सिनियरको सामु राम्रै गरिन्। सबैको राम्रो प्रतिक्रिया पाइन्।
क्रिकेट पारखीहरूका नजरमा अनु ब्याटिङ र बलिङ दुवैमा अब्बल देखिइन्। उनको टिमले दुई खेल जिते पनि रनरेटका आधारमा फाइनलमा पुगेन। अनु अब छनोट भएको रिजल्टको पर्खाइमा छिन्। कोचको मुखबाट नतिजा सुन्न आतुर छिन्। स्कुलको परीक्षा दिएर क्रिकेट सिक्न धनगढी आउने सोचाइ छ।
राष्ट्रिय टिममा पर्ने अनुको अपेक्षा छ। राष्ट्रिय टोेलीमा परेर अनु देशको लागि क्रिकेट खेल्ने सपना देख्दैछिन्। नपरे पनि उनलाई ठूलो पछुतो भने हुने छैन। छनोटमा उनका लागि राम्रो अवसर हुनेछ। परिनन् भने झन् बढी मिहिनेत गर्ने उनको अठोट छ। उनले अहिलेसम्म बल, ब्याट, किट किन्न सकेकी छैनन्। छनोटमा परे दाइसँग किनिमाग्ने सोच छ।
अनुका आमा र दाजु उनी राष्ट्रिय क्रिकेट खेलाडी भएको हेर्ने चाहन्छन्। उनी आफ्नो र परिवारको सपना पूरा उत्साहित छिन्। अनुले आफ्नो भविष्यको सपना चिनेकी छन्। आफ्नो सपना पूरा गर्न मिहिनेत गर्ने अठोट र इच्छाशक्ति छ। अनुका अनुसार क्रिकेट उनको भविष्य हो। उनी प्रतियोगिताहरू भइरहून् भन्ने चाहन्छिन्। सेतोपाटीबाट