कैलालीको दक्षिणी पूर्वी क्षेत्रका किसानलाई अहिले चैते धान रोप्ने चटारो छ । भजनी, जोशीपुर र टीकापुरका किसान धान रोप्न व्यस्त देखिन्छन् । बाढी प्रभावित क्षेत्र भएकाले त्यहाँका किसान चैते धानप्रति आकर्षित भएका हुन् । रोगको समस्या कम हुने, डुबानको समस्याबाट पनि जोगिने र उत्पादन धेरै हुने भएकाले चैते धानप्रति किसानको आकर्षण बढेको हो ।
कैलाली सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी धान उत्पादन हुने जिल्ला समेत हो । पछिल्ला केही वर्षयता चैते धानखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । कैलालीमा एक हजार बढी हेक्टर क्षेत्रफलमा चैते धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीको तथ्यांक छ ।चैतमा लगाएको धान साउनमा पाक्छ । साउनमा पुनः यहाँका किसानले वर्षे धान रोप्ने गरेका छन् ।
उत्पादन राम्रो हुने, मूल्य पनि राम्रो पाइने भएकाले यहाँका किसानले चैते धान लगाउने गरेको पाइन्छ । डुबानको समस्याका कारण चैते धानतिर किसानलाई अग्रसर गराउन लागिएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माको भनाइ छ । चैत धानखेतीतर्फ थप आकर्षित गर्न विभिन्न कार्यक्रमहरू समेत लागु गरिएको प्रमुख शर्माले जानकारी दिए ।