आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारको आकांक्षा राख्नेको संख्या निकै धेरै देखिएको छ। टीकापुर नगरपालिकाको हकमा उम्मेदवारको आकांक्षा राख्नेमा नेपाली काँग्रेसबाट धेरै देखिएका छन्। टीकापुर नगर कार्य समितिले चैत २१ गते आकांक्षीहरुलाई नाम दर्ता गर्न सूचना जारी गरेको थियो। नगर सचिव बिरेन्द्र कुँवरका अनुसार काँग्रेसबाट टीकापुर नगरपालिकाको प्रमुखमा ११ र उपप्रमुखमा १२ जनाले निवेदन दर्ता गरेका छन्।
प्रमुखका आकांक्षीमा नवराज रावल, गोरबहादुर खड्का, धिजराज रेग्मी, भुवनेश्वर अधिकारी, रतन खड्का, राजकुमार हमाल, जंगबहादुर साउँद, प्रा।डा। जगतबहादुर सिँह रावल, केशरीकुमारी रावल बिष्ट, टेकेन्द्रबहादुर धामी र तिर्थराज बोहरा रहेका छन्। प्रमुखका आकांक्षी मध्ये साउद यसअघिको निर्वाचनमा पराजित भएका थिए। उनले ५५१४ मत पाएका थिए। त्यस्तै प्रमुखकै आकांक्षी बिष्ट हाल उपप्रमुख रहेकी छन्। उनी सबैभन्दा धेरै मत प्राप्त गरेर उपप्रमुख विजयी भएकी थिईन। उनले ६२२६ मत प्राप्त गरेकी थिईन। सो निर्वाचनमा उनी काँग्रेसबाट जित्ने एक्लो उम्मेदवार हुन।
त्यस्तै उपप्रमुखको आकांक्षीमा रणबहादुर रावल, सरस्वती शाह, देवेश्वरी शाही, झनकराज तिमिल्सिना, निर्मला कडायत, लौटन चौधरी, बिना सोडारी, हस्ता भण्डारी, जनककुमारी चौधरी, अर्चना चौधरी, सुशीला विक र चिरञ्जीवी खनाल रहेका छन्। लौटन चौधरी यसअघिको स्थानीय निर्वाचनमा प्रमुखका निकटतम प्रतिद्वन्द्वी हुन। उनी तत्कालिन अवस्थामा मधेशी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक० बाट प्रमुख पदका उम्मेदवार रहेका थिए। उनले ५५३४ मत प्राप्त गरेका थिए। उनी हाल नेपाली काँग्रेस कैलाली क्षेत्र नं। १ को सचिव छन्।
नगरपालिकाका हकमा नेपालकै सबैभन्दा बढी मतदाता रहेको वडा नं। १ को वडाध्यक्षको आकांक्षीका लागि समेत वडा कार्य समितिले चैत २१ गते नै सूचना जारी गरेको थियो। वडाध्यक्षको लागि २० जनाको निवेदन परेको वडा सभापति चक्रबहादुर बटालाले जानकारी दिए। काँग्रेसले वडा नं। ६ मा भने वर्तमान वडाध्यक्षलाई नै दोहोर्याउने निर्णय गरेको छ। वडा कार्य समितिले वडाध्यक्ष बलिराम चौधरीलाई नै वडाध्यक्षका रुपमा अघि सार्ने निर्णय गरेको छ। उनी कैलाली क्षेत्र नं। १ प्रदेश ख का पार्टी सभापति समेत हुन।
नौ वडा मध्ये अन्यमा समेत वडाध्यक्षका आकांक्षीको सूची लामो रहेको छ। उम्मेदवारका आकांक्षीको सूची लामो देखिए पछि काँग्रेसलाई उम्मेदवार छनौटमा निकै सकस देखिएको छ। एकातिर अन्य पार्टीहरुसँग गठबन्धन गरेर जाने सहमति भैरहेका बेला अर्कोतिर पार्टीभित्रै उम्मेदवारका आकांक्षी धेरै देखिए पछि काँग्रेसमा उम्मेदवार छनौटको सकस बढेको हो।
नेकपा एमालेमा पनि टीकापुर नगरपालिकाको प्रमुखका लागि चार जना आकांक्षी देखिएका छन्। वर्तमान प्रमुख तपेन्द्रबहादुर रावलले दोहोरिने आकांक्षा देखाएका छन्। उनी अघिल्लो निर्वाचनमा ५९५९ मत पाएर विजयी भएका थिए। नगर अध्यक्ष ध्रुव खत्रीका अनुसार वर्तमान प्रमुख रावल, श्याम खत्री र मातृका तिमिल्सिैनाका साथै आफू स्वयम समेत प्रमुखको आकांक्षी छन्।
उनले उपप्रमुखका हकमा भने धेरै जनाको नाम चर्चामा रहेको बताए। स्रोतका अनुसार एमालेले उपप्रमुखको भरपर्दो उम्मेदवार अघि सार्न सकेको छैन। कसलाई अघि सार्दा चुनाव जित्न सहज हुन्छ भन्नेमा पार्टीले छानविन गरिरहेको बताईएको छ। एमालेमा समेत वडा नं। १ को वडाध्यक्षका लागि १८ जनाको दावी छ। उसले अन्य केही वडामा भने सर्वसम्मत रुपमा उम्मेदवारको टुङ्गो लगाएको बताईएको छ। ‘अहिले नै अन्तिम टुङ्गो त हैन,’ नगर अध्यक्ष खत्रीले भने,‘नगरले सिफारिस गर्न अझै बाँकी छ।’
सत्ता गठबन्धनको हिस्सेदार मध्येको एक नेकपा एकीकृत समाजवादीले यसबारेमा औपचारिक छलफल सुरु नगरेको जनाएको छ। नगर अध्यक्ष रंग अधिकारीले आफूहरु गठबन्धन हुने वा नहुने भन्ने पर्खाईमा रहेको बताए। उनले टीकापुर नगरपालिकाको प्रमुख र उपप्रमुख भन्दा पनि वडा नं। १ को वडाध्यक्षमा सशक्त दावी रहेको बताए। ‘यो वडामा हाम्रो संगठन छ। अहिलेको वडाध्यक्ष हामीसँगै हुनुहुन्छ,’ उनले भने,‘त्यही भएर वडाध्यक्षमा सशक्त दावी हो।’
उनका अनुसार गठबन्धन पश्चात प्रमुख वा उपप्रमुख मध्ये कुनै एक पदमा भागबण्डा भए प्रमुखमा भैरव रावल र उपप्रमुखमा गंगाराम आचार्य, भीमराम चपाँई र ललित साउँद मध्ये एक जनालाई अघि सार्ने तयारी छ। आचार्य हाल वडा नं। १ का वडाध्यक्ष र साउँद वडा नं। १ को सदस्य जितेर जिल्ला समन्वय समिति सदस्य रहेका छन्।
सत्ता गठबन्धनकै एक अर्को हिस्सेदार नेकपा माओवादी केन्द्रले समेत स्थानीय तह निर्वाचनलाई लक्षित गरेर छलफल सुरु गरेको छ। नगर अध्यक्ष खडक शाहले छलफलकै क्रममा रहेको बताए। माओवादी केन्द्रबाट अध्यक्ष स्वयम् र शिवबहादुर थापा ललित र विकाश चौधरी प्रमुखका आकांक्षी रहेका छन्। थापा यसअघिको निर्वाचनमा पराजित भएका थिए। उनले ५५१० मत प्राप्त गरेका थिए।
तीन महिना अघि निर्वाचन आयोगमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टी भने प्रमुख र उपप्रमुखको टुङ्गो लगाएर घरदैलो अभियानमा जुटेको छ। कैलाली क्षेत्र नं। १ का निलम्वित साँसद रेशमलाल चौधरीकी श्रीमती रञ्जीता श्रेष्ठ चौधरी अध्यक्ष रहेको सो दलले प्रमुखमा रामलाल डगौरा थारु र उपप्रमुखमा उल्कादेवी विश्वकर्मालाई अघि सार्ने निर्णय गरिसकेको छ।
प्रमुखका दावेदार थारु हाल वडा नं। ७ का वडाध्यक्ष हुन भने विश्वकर्मा शिक्षिका हुन्। उनी शिक्षण पेशा छोडेर उपप्रमुखको मैदानमा उत्रिएकी छन्। यो दलले थारु र दलित समुदायको मतलाई आफ्नो पक्षमा पार्न प्रयास गरिरहेको छ।