अछाममा माओवादी र समाजवादीसँग तालमेल नगर्न कांग्रेसको आन्तरिक सर्कुलर
2022/04/18, 4:01
 
dd

अछाममा स्थानीय तह निर्वाचनमा सत्ता साझेदार दलहरूबीच चुनावी गठबन्धन प्रक्रिया सकसपूर्ण बन्दै गएको छ । सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागवण्डामा कुरा नमिलेपछि चुनावी सहकार्यमा सकस देखिएको हो ।आपसी सहमतिको प्रयासमा जुटेका तीन दलका नेताहरूले आ(आफ्ना दाबी नछोडेपछि अन्तिम टुङ्गो लगाउने जिम्मेवारी प्रदेशलाई दिने तय भएको छ । नेपाली कांग्रेस अछामले माओवादी केन्द्र र एकीकृत समाजवादीसँग कुनै पनि तालमेल नगर्ने आन्तरिक सर्कुलर  गरेको पनि खुलेको छ ।

नेपाली कांग्रेस अछामका एक नेताका अनुसार गठबन्धनका नाममा कांग्रेसले कुनै पनि पालिकामा प्रमुख पद अन्य दललाई नदिने गरी आन्तरिक सर्कुलर गरिसकेको छ । सोही सर्कुलर अनुसार नै नेपाली कांग्रेसको रामारोशन गाउँ कार्यसमिति, साँफेबगर नगर कार्यसमिति र चौरपाटी गाउँ कार्यसमितिले गठबन्धनका नाममा पालिका प्रमुख र उपप्रमुख अरु दललाई दिन नसकिने र पार्टीले निर्देशन जारी गरे पनि त्यसको खिलाफमा जाने भन्दै विज्ञप्ति प्रकाशित गरेका छन् ।

जिल्ला नेतृत्वसँगको परामर्शमै पालिका कार्य समितिले विज्ञप्ति निकालेको स्रोतको दाबी छ । नेपाली कांग्रेसले यसअघिको स्थानीय निर्वाचनमा एक्लै लड्दा पनि जिल्लाका चारवटा पालिका जितेको थियो ।   पञ्चदेवल विनायक नगरपालिका, कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा एक्लै विजयी भएको कांग्रेसले ती पालिकामा पार्टीलाई थप मजबुद बनाएको दाबी गर्दै गठबन्धन भए पनि अध्यक्ष र उपाध्यक्ष पद अरु दललाई कुनै पनि हालतमा  स्वीकार्न नसकिने बताएको छ । 

बाँकी रहेका पालिकाहरूमा पनि आफ्नो पार्टी संगठन बलियो हुनुका साथै जनघनत्व समेत कांग्रेसको पक्षमा रहेको दाबी गर्दै नेपाली कांग्रेस अछामले प्रमुख र उपप्रमुख बाहेकका पद मात्रै अरु दललाई दिन सकिने बताएको छ । जिल्लाका १० वटा स्थानीय तहमध्ये माओवादी र समाजवादीलाई एउटा स्थानीय तहको पनि प्रमुख दिन नसकिने अडान कांग्रेसले राखेपछि गठबन्धन दलहरूबीच सहमति हुन नसकेको हो । नेपाली कांग्रेस अछामका महाधिवेशन प्रतिनिधि वेदप्रकाश तिमिल्सेनाले भने सहमतिका लागि प्रयास जारी रहेको बताए ।  माओवादी र समाजवादीले सम्मानजनक सहकार्य नभए गठबन्धनमा बस्न नसकिने बताउँदै आएका छन्  ।