कैलालीमा गठबन्धनबीच भागबन्डा टुङ्गो लागेन, प्रदेश संयन्त्रलाई जिम्मा 
2022/04/19, 11:14
 
ss

पटक–पटकको बैठक,  छलफल हुँदा पनि कैलालीमा चारदलीय गठबन्धनका घटकबीच पालिका भागबन्डामा सहमति नजुटेपछि टुङ्गो लगाउन प्रदेश गठबन्धन संयन्त्रलाई जिम्मा दिइएको छ । जिल्लाका १३ पालिकाको भागबन्डामा सहमति बन्न नसकेपछि जिल्लास्तरीय गठबन्धन संयन्त्रले प्रदेशलाई जिम्मा दिने निर्णय गरेको हो । कैलालीमा गठबन्धनमा चार दल नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा छन् । केन्द्रमा

आ–आफ्नो दाबीमा टसमस नभएपछि आज (सोमबार)सम्म कुनै टुङ्गो लाग्न सकेको छैन । कैलालीका १३ पालिकामध्ये काङ्ग्रेसले ११ मा नेतृत्वको दाबी गर्दै आएको छ । एकीकृत समाजवादीले पाँच, माओवादी केन्द्रले दुई तथा राष्ट्रिय जनमोर्चाले एक पालिकाको नेतृत्वमा दाबी गरिरहेको छ ।  कैलालीमा २०७४ सालको निर्वाचनमा काङ्ग्रेस धनगढी उपमहानगरपालिकासहित चार स्थानीय तहमा विजयी भएको थियो । एक नगरपालिकासहित दुई पालिकामा माओवादी केन्द्र विजयी भएको थियो भने बाँकी पालिका एमालेले जितेको थियो । 

एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि दल छान्ने क्रममा पालिका प्रमुख वा अध्यक्ष कोही पनि समाजवादीमा समाहित भएनन् । दुई नगरपालिका र एक गाउँपालिकाका उपप्रमुख÷उपाध्यक्षले मात्रै एकीकृत समाजवादी रोजेका थिए ।  काङ्ग्रेस नेताको दाबी अनुसार माओवादी र एकीकृत समाजवादीका कारण सहमति जुट्न कठिन भइरहेको छ । कैलाली काङ्ग्रेस सभापति नारायणदत्त भट्टले भने, ‘कुनै पार्टीलाई सम्मानजनक स्थानमा राख्न हामी आफू बलियो भएका एक÷दुई स्थानीय तह छोड्न सक्छौं । तर दुई सय मत पनि नभएका पार्टीले दाबी गरेकाले अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन ।’

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भैरव रावल भने दलहरू एकले अर्कालाई गलाउने र थकाउने मानसिकता बनाएकाले नै सहमति हुन ढिलाइ भइरहेको बताउँछन् ।  उनले आफ्नो पार्टीले पाँच पालिकाको नेतृत्व पाउनुपर्ने पुनः बताए । ‘केन्द्रीय गठबन्धनले बनाएको मापदण्डअनुसार हामी (एकीकृत समाजवादी)को पाँच पालिकामा दाबी पुग्छ । सहमतिका लागि हामी चारसम्म लचक हुन तयार छौं,’ उनले भने । काङ्ग्रेसभित्र नेता, कार्यकर्ताको ठूलो पङ्क्ति गठबन्धनको विपक्षमा रहेकाले पनि जिल्ला नेतृत्वमाथि बढीभन्दा बढी पालिकामा दाबीका लागि दबाब छ ।

यसैबीच, काङ्ग्रेसले आफ्नो प्रभाव रहेका कैलालीका पालिकाहरू नछोड्ने अडान कायमै राखेको छ । काङ्ग्रेसका केन्द्रीय सदस्यहरूसहित जिल्ला, निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, नगर तथा पालिका समितिका पदाधिकारीहरूसहितको संयुक्त बैठकमा काङ्ग्रेसले जित्ने पालिकामा आफ्नो उम्मेदवारी नछोड्ने अडान लिएको छ । 

जिल्ला नेतृत्वले पनि ‘काङ्ग्रेसको नगर, गाउ“पालिका तथा वडा समितिहरूले आफैंले मूल्याङ्कन गरेर अरू दलसँग चुनावी तालमेल गर्ने वा नगर्नेबारे निर्णय लिनसक्ने’ नीति बनाएको छ । कैलाली काङ्ग्रेस सभापति भट्टले भने, ‘तर एक्लै लड्ने निर्णय गर्दा चुनाव जित्ने विश्वासयोग्य आधार भने दिनुपर्छ ।’

उता, कैलालीको कैलारी गाउँपालिकामा काङ्ग्रेस र माओवादी केन्द्रबीच गठबन्धन नगरी स्वस्थ प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।  काङ्ग्रेसले जिल्लास्तरीय गठबन्धनले पालिका भागबन्डा टुङ्ग्याउन नसकेपछि प्रदेश समितिलाई टुङ्गो लगाउन जिम्मा दिएको छ ।  काङ्ग्रेस कैलालीका सचिव केशवराज मिश्रले भने, ‘अहिलेसम्म भएका सबै छलफल, बैठकका विषयवस्तु, सहमति हुनसक्नुका कारण, पार्टीको अडान तथा छोड्न नसक्ने आधार सबै समावेश गरेर प्रदेश समितिलाई प्रतिवेदन नै बुझाउँछौं ।’ उनले पार्टी (काङ्ग्रेस) को शक्ति कम हुनेगरी भागबन्डा हुननसक्ने बताए । उनले भने, ‘काङ्ग्रेस बलियो बन्छ भने मात्रै गठबन्धन गर्नुको अर्थ रहन्छ ।’ 

उम्मेदवार छनोट प्रक्रिया जारी

कैलालीमा गठबन्धनभित्र पालिका भागबन्डाको टुङ्गो लाग्न नसकेपनि हरेक दलले आ–आफ्नो दलमा उम्मेदवार छनोट प्रक्रिया भने अघि बढाएका छन् । काङ्ग्रेसले जिल्लाका सबै एक सय २६ वडाबाट उम्मेदवार छनोटका लागि आकाङ्क्षीको नाम सङ्कलन गर्ने र उपल्लो तहमा सिफारिस गर्ने कार्य जारी राखेको छ । 

धनगढी उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुख पदका लागि नगरसमितिले आवेदन माग गरेको छ ।काङ्ग्रेसबाट धनगढी उपमहानगरपालिका प्रमुख पदका लागि वर्तमान नगर प्रमुख नृपबहादुर बड, महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महरा, निवर्तमान जिल्ला सचिव पूर्ण कु“वर, महाधिवेशन प्रतिनिधि हरिश खड्का, नगर सभापति यज्ञराज उपाध्याय, जागृति बोगटी र लक्ष्मीदत्त भट्टले आवेदन दिएका छन् । 

त्यस्तै, उपप्रमुख पदमा पुष्पा भट्ट, सुनिता राना, राना, प्रमिला लम्साल, डम्मरी महरा (रक्षा) र निपा चोखालले दावेदारी गरेका छन् ।त्यस्तै, नेकपा (एकीकृत समाजवादी) को धनगढी उपमहानगर कमिटीले पनि उम्मेदवारको सिफारिस गरेको छ । एकीकृत समाजवादी पार्टीबाट धनगढी उपमहानगरपालिका प्रमुख पदका लागि नगर कमिटी अध्यक्ष मदनराज रेग्मी र लोकेन्द्र बानियाँलाई सिफारिस गरिएको छ । उपप्रमुखमा रोजी बस्नेतको नाम सिफारिस गरिएको छ । 

एकीकृत समाजवादीको धनगढी नगर कमिटिले उपमहानगरपालिकाका सबै १९ वडामा  उम्मेदवारी दिने निर्णयसमेत गरेको छ । नगर कमिटी अध्यक्ष रेग्मीले भने, ‘वडाध्यक्षको उम्मेदवारीको टुङ्गो जिल्ला कमिटीले गर्ने छ भने वडा सदस्यको उम्मेदवार चयन नगर कमिटीले गर्नेछ ।’