डडेल्धुरामा माओवादीले टुंग्यायो उम्मेदवार,कुन पालिकामा को ?
2022/04/25, 12:58
 
ss

सत्ता गठबन्धन दलबीच सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्र डडेल्धुराले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ ।  माओवादी केन्द्रले दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात वटै स्थानीय तह प्रमुख र उपप्रमुखको उम्मेदवार टुंग्याएको हो ।

कुन पालिकामा को उम्मेदवार 

माओवादीले परशुराम नगरपालिकाको मेयरमा शेरसिंह माल ‘डायमण्ड’ र उपमेयरमा विमला महतालाई उम्मेदवार बनाएको छ ।  माल परशुराम नगरपालिकाका नगर कमिटी अध्यक्ष हुन् ।

उनी २०७४ सालको स्थानीय तह चुनावमा नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर साउदसँग पराजित भएका थिए ।  माओवादीले आलिताल गाउँपालिका अध्यक्ष पदका लागि शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी बोहरा रावललाई उम्मेदवार बनाएको छ ।

भागेश्वर गाउँपालिका अध्यक्षमा विष्णुप्रसाद पाण्डेय र उपाध्यक्षमा गीता भट्टलाई उम्मेदवार बनाइएको नेकपा माओवादी केन्द्र प्रदेश कमिटी उपाध्यक्ष मानसिंह मालले जानकारी दिए ।  जिल्ला सदरमुकाम अमरगढी नगरपालिकाको मेयरमा लक्ष्मण सिंह र उपमेयरमा शशि अवस्थीलाई उम्मेदवार बनाइएको छ ।

अयमेरु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार माओवादीले दोहोर्‍याएको छ । माओवादी केन्द्रले अध्यक्षमा उमेशप्रसाद भट्ट ‘विकास’ र उपाध्यक्षमा कलावती भाडलाई पुनः उम्मेदवार बनाएको हो ।

यसैगरी माओवादीले नवदुर्गा गाउँपलिकाको अध्यक्षमा धर्मदेव विक र उपाध्यक्षमा बिष्ना बोहरा तथा गन्यापधुरा गाउँपालिका उपाध्यक्षमा चन्द्रबहादुर मल्ललाई उम्मेदवार बनाएको छ । त्यहाँ अध्यक्षको उम्मेदवार भने माओवादीले टुग्याएको छैन ।