धनगढीमा दोस्रो पटक दोहोरिन उम्मेदवारी दिँएका वडले भने, ‘हाम्रो कसैसँग प्रतिष्पर्धा छैन’
 
dd

सत्तारुढ गठबन्धनबाट धनगढी उपमहानगरपालिकाको लागि उम्मेदवारी दिन पुगेका निवर्तमान मेयर नृप बहादुर वडले आफूहरूको कसैसँग प्रतिष्पर्धा नभएको दाबी गरेका छन् । धनगढी नेपाली कांग्रेसको पकड भएको क्षेत्रको बताउँदै उनले गठबन्धन बनेपछि झनै बलियो भएकोले आफूहरूको कुनै दल वा स्वतन्त्र उम्मेदवार कसैसँग प्रतिष्पर्धा नहुने दाबी गरेका हुन् ।

उम्मेदवार वडले नगरवासीको माग र चाहना अनुसार आफू दोस्रो पटक मेयरमा दोहोरिएको समेत प्रतिक्रिया दिएका छन् ।  उनले भने, ‘मेरो शुरूवाती कार्यकाल भनेको नगरको सबै वडाको भौतिक संरचना, कानून निर्माणमा बितेको छ । त्यसमाथि लामो समय कोभिडको खराब समयका बीच बितेको छ । अर्कोतिर प्रदेश सरकार संघीय सरकारको पनि सहयोग खासै थिएन । त्यस समय प्रतिकुल अवस्थामा पनि हामीले रातदिन नभनी काम गरेका छौँ । देशभरमा धनगढी उपमहानगरपालिका अब्बल छ । जुन कारणले पनि दोहोरिने मौका पाएको हुँ ।’

उनले अबको निर्वाचनमा आफू जितेको अवस्थामा विगतको अनुभवका साथै नयाँ योजनाका साथ अगाडि बढ्ने बताएका छन् । उनले आगामी योजना सुनाउँदै भने, ‘अब मेरो पहिलो उदेश्य गौरीफन्टा नाका व्यवस्थित गर्नु हो । धनगढी एयरपोर्टलाई व्यवस्थित गरेर जाने हो । धनगढी उपमहानगरलाई महानगर बनाउने हो । प्रत्येक घरमा एक प्राविधिक उत्पादन गर्ने योजनाको साथ अगाडि बढ्ने छु ।’ 

सुदूरपश्चिमको एक मात्रै धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरका लागि सोमबार सत्तारुढ गठबन्धनबाट वड र शान्ति अधिकारी क्षेत्रीले उम्मेदवारी दिएका हुन् । धनगढी चौराहाबाट बाजागाजा र र्‍याली सहित उनीहरू धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए ।

वड नेपाली काँग्रेसका केन्द्रीय सदस्य पनि हुन् भने अधिकारी लामो समय शिक्षण पेशामा सक्रिय छिन् । साथै २०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उपप्रमुख पदमा पराजित भएकी थिइन् ।