स्थानीय निर्वाचनको मिति नजिकिएसँगै अहिले उम्मेदवारहरूले आफ्ना घोषणापत्र सार्वजनिक गरिरहेका छन् । यस्तैमा डडेलधुराको भागेश्वरका स्वतन्त्र उम्मेदवार खडक ठकुराठीले सार्वजनिक गरेको घोषणापत्र सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
घोषणापत्रमा हेलिकप्टरबाट बीऊ छर्नेदेखि जनताको घरमा ३६५ दिन नै दसैँ मनाउने विषय समेटिएका छन्, जुन सामाजिक सञ्जालमा भाइरल बनेका हुन् । नेकपा एमालेले टिकट नदिएपछि बागी उम्मेदवारी दिएका ठकुराठीले आफ्नो घोषणापत्रमा कृषिलाई महत्त्वपूर्ण प्राथमिकतामा राखिएको छ । जसमा उनले भागेश्ववर गाउँपालिकाको खेतीयोग्य जमिनमा मौसम अनुसार हेलिकप्टरबाट बीऊ छर्ने र हेलिकप्टरबाटै सिचाइको व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।
उनले घोषणापत्रमा समेटिएका विषयहरू आफूले पाँच वर्षमा पूरा गर्ने दाबी गरे । उनले भने, ‘यो मेरो एजेण्डा नै हो । यो जिल्लाबाट पटक पटक प्रधानमन्त्री भएका व्यक्तिले पनि केही गर्न सकेनन् । म गर्छु । हेलिकप्टरबाट बीऊ छर्ने प्रविधि चीन र कङ्गोमा प्रयोगमा आएको छ । यहाँ पनि हुन्छ ।’ यस्तै उनले जनतालाई सुख, समृद्धि र शान्तिको प्रत्याभूति दिलाएर ३६५ दिन नै दसैँ मनाउने वातावरण मिलाउने पनि दाबी गरेका छन् ।
यस्तै गौरिबगडदेखि परशुराम नगरपालिकासम्म महाकाली नदीमा चार वर्ष भित्र सुख्खा बन्दरगाह निर्माण गरी नेपाली झण्डा बाहक पानी जहाज चलाउने घोषणा पनि गरेका छन् ।