संविधान बचाउन र जनताको अधिकार स्थापना गर्न गठबन्धन बनेको हो : आरजु
2022/05/02, 7:38
 
ss

नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले संविधान बचाउन र जनताको अधिकार स्थापना गर्न गठबन्धन बनेको  बताएकी छन् ।  आज धनगढी स्थित आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दे उनले कुनै व्यक्ति विशेषका लागि गठबन्धन नबनेको जिकिर गरेकी हुन् ।

‘सबैतिर बदमासी भएपछि गठबन्धन बनेको हो । यो गठबन्धन कसैको व्यक्तिगतका लागि बनेको होइन’ उनले भनिन्, ‘संविधान बचाउन र जनताको अधिकारका स्थापना गर्न गठबन्धन बनेको हो ।’देउवाले कांग्रेसको नेतृत्वमा आएको संविधान मास्ने प्रयास भएको समेत टिप्पणी गरिन् ।  ‘कांग्रेसले संविधान ल्यायो । कार्यान्वयन गर्ने भन्दा एमालेले भत्काउन लाग्यो’ उनले भनिन्, ‘तानासाह प्रवृत्ति उल्टाउन सरकार गठन भयो ।’स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका दलहरू इमानदार बन्न समेत उनले आग्रह गरेकी थिइन् ।

फरक दलले फरक दललाई मतदान गर्न सकस मानिरहेको सङ्केत गर्दै उनले भनिन् , कसैले भन्छन्, हरिया हतौडामा कसरी भोट हाल्ने ? हँसिया हतौडामा भोट हाल्नेले कसरी रुखमा भोट हाल्ने भन्नुहुन्छ । तर यो संयुक्त लडाइ हो । विचारको लडाइ हो । गठबन्धनले बनाएका उम्मेदवारहरूलाई जिताउन आवश्यक छ ।’

गठबन्धनको तर्फबाट धनगढीमा प्रमुखमा कांग्रेसका पूर्व मेयर समेत रहेका नृप बहादुर र माओवादीबाट शान्ति अधिकारी छन् । एमालेको तर्फबाट प्रमुखमा रण बहादुर चन्द र उपप्रमुखमा कन्दकला राना उम्मेदवार बनेका छन् । स्वतन्त्र तर्फ गोपाल हमालले उम्मेदवारी दर्ता गरेका छन् ।