काग्रेंसका प्रदेश महामन्त्रीको आग्रहः ‘गठबन्धनलाई अत्याधिक बहुमतले जिताऔं’
2022/05/04, 3:40
 
ss

नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश कार्य समितिका महामन्त्री नरनारायण शाह ‘मनु‵ ले गठबन्धनका उम्मेदवारलाई अत्याधिक वहुमतले जिताउन आग्रह गरेका छन् । स्वास्थ्यमा अचानक देखिएको समस्याका कारणले भारतको हरियाणा स्थित मेदान्त अस्पतालमा उपचाररत शाहले आज एक विज्ञप्ती जारी गर्दै गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरेका हुन् । उनले उपचार प्रक्रियालाई छोट्याएर छिट्टै घर फर्किएर जिल्लाका सबै पालिकामा गठबन्धनका साझा उम्मेदवार तथा वडा तहका काँग्रेसका समस्त प्रत्याशीहरुलाई विजयी गराउन आफ्नो सम्पूर्ण क्षमताका साथ होमिने प्रतिवद्धता दोहोराएका छन् । 

धनगढी उपमहानगरपालिकामा नगर प्रमुखमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृप बहादुर वड र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका नेतृ शान्ति अधिकारीलाई गठबन्धनको साझा उम्मेदवारका रुपमा प्रस्तुत गर्दै, वडास्तरमा दुबै पार्टीका बिच मित्रवतताका साथ प्रतिस्पर्धा गरिरहेको अवस्थामा आम काँग्रेसजन, नेता तथा कार्यकर्ताहरु एकजुट भएर आफ्ना उम्मेदवारहरुलाई अत्यधिक बहुमतका साथ विजयी गराउन अहोरात्र खटिएको र साझा उम्मेदवारहरुलाई जिताउन अपिल गरेका छन् ।  

उनले चुनावमा आफुहरु विरुद्ध अनर्गल प्रचारप्रसार गर्ने र भ्रामक तथा कपोकल्पित समाचार प्रकाशन, प्रसारण गरेर आम मतदातालाई दिग्भ्रमित पार्ने कुनै पनि कुटिल खेलमा विश्वास नगर्न पनि आग्रह गरेका छन् । ‘सम्पूर्ण मतदाताहरुमा मतदानमा सहभागी भएर गठबन्धनका साझा उम्मेदवार एवं पार्टीका तर्फबाट पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्य पदमा उम्मेदवार भएकाहरुलाई विजयी गराउन हुन सादर आग्रह गर्दछु ।’ विज्ञप्तीमा भनिएको छ । 

एक सातादेखि उपचार प्रदेश महामन्त्री शाहले निर्वाचनका सन्दर्भमा, खासगरी नेपाली काँग्रेसका नगर प्रमुख पदका प्रत्याशीका विषयमा केही संचारमाध्यममा प्रकाशित, प्रसारित गरिएको भ्रामक, मनगढन्ते तथा अतिश्योक्तीपूर्ण समाचारहरुप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘धनगढी उपमहानगरपालिकाको निर्वाचनका बारेमा मेरो नाम समेत जोडेर केही संचार माध्यमले काँग्रेसका उम्मेदवार विरुद्ध तथा स्वतन्त्र उम्मेदवारको पक्षपोषण गर्ने कुत्सित मनसायका साथ निरन्तर रुपमा समाचार प्रकाशन, प्रसारण गर्दै आइरहेका छन् ।’ शाहद्धारा जारी विज्ञप्तीमा अगाडी भनिएको छ–‘पार्टीका केन्द्रीय सदस्य वड अघिल्लो पटक यस उपमहानगरपालिकाको प्रमुखका रुपमा आकांक्षी हुँदा र पार्टीबाट टिकट प्राप्त गरेर उम्मेदवार बने पश्चात् प्रमुख, उपप्रमुख लगायत सबै वडातहसम्मका प्रत्याशीहरुलाई विजयी गराउन तत्कालीन अवस्थामा जिल्ला सभापतिका हैसियतले म लगायत संगठनका सबै इकाई र संरचना तथा आम कार्यकर्ताहरुको समन्वय र सहयोगमा गरेको सफल प्रयासले नगर प्रमुख, उपप्रमुख र बहुमत वडामा पार्टी विजयी भएको स्मरण गराउन चाहन्छु । नेपाली काँग्रेसप्रतिको धनगढी नगरवासीहरुले देखाएको त्यो अमुल्य साथ, समर्थन र मतका प्रति म पुनः एकपटक सम्पुर्ण मतदाताहरुमा हार्दिक आभार प्रकट गर्दै नमन गर्दछु ।’ 

2